►विष्णु ढकाल
लघुवित्त वित्तीय संस्थाको प्रमुख आधार भनेकै तिनका ग्राहक सदस्य हुन् । ग्राहक सदस्यको उचित छनौट गर्न सक्ने लघुवित्त संस्थाले मात्रै दिगो तथा व्यवसायिक बित्तीय सेवा उपलब्ध गराउन सक्दछन् । अहिले लघुवित्त वित्तीय संस्थाहरुको बढ्दो संख्या र तीव्र प्रतिस्पर्धाको कारण ग्राहक छनौट गर्ने कार्य अत्यन्तै जटिल बन्दै गइरहेको छ । यसै विषयलाई मध्यनजर गर्दै यहाँ ग्राहक सदस्य छनौट गर्दा अपनाउनुपर्ने केही आधारभूत विषयहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ। 

क्षेत्र छनौटको मापदण्ड बनाउने
लघुवित्त वित्तीय संस्थाहरुले आजभोलि ग्राहक सदस्य थप्ने होडबाजीमा जुनसुकै स्थान, जुनसुकै क्षेत्रमा पुगेर ग्राहक सदस्य थप गर्ने गरेको पाइन्छ । तर, शाखा कार्यालयबाट ग्राहक सदस्यसम्म पुग्ने दुरी, ग्राहकहरु सेवा लिन कार्यालयसम्म आउनसक्ने क्षमता, ग्राहक सदस्यले संचालन गरेको ब्यापार, ब्यवसाय वा अन्य कुनै परियोजना लगायत ग्राहक सदस्यको घरपरिवार, बसोबास लगायतका कुराहरु निरीक्षण गर्नसक्ने, कर्जाको भाखा नाघेमा निरन्तर ताकेता गर्नसक्ने र तुलनात्मक रुपमा कम बित्तीय पहुँच पुगेका क्षेत्रहरु छनौट गरी ग्राहक सदस्य छनौट गर्दा लघुवित्त संस्थाहरुलाई बढी फाइदा हुन्छ । 

लघुवित्त संस्था वा तिनका शाखा कार्यालयले बिना कुनै मापदण्ड जुनसुकै स्थानमा पुगेर ग्राहकसदस्य थप्नुको सट्टा आफ्नो आवश्यकता अनुरुप क्षेत्र छनौटको मापडण्ड बनाई लागूू गर्दा राम्रो हुने देखिन्छ । अन्तर्राष्ट्रिय तथा हाम्रो आफ्नै अभ्यासहरुलाई हेर्ने हो भने सवारी साधन प्रयोग गरी जान सकिने स्थानहरुमा बढीमा २० कि.मी.सम्म तथा पैदल जानुपर्ने स्थानहरुमा बढीमा २ घण्टासम्ममा पुग्न सकिने क्षेत्र छनौट गरी लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक सदस्य छनौट गर्ने गरेको पाइन्छ । 

नयाँ ग्राहकको खोजी गर्ने
अन्य वित्तीय संस्थामा कारोबार गरिसकेका वा गरिरहेका, लघुवित्तको सेवा सुविधाको बारेमा जानकार रहेका तथा बजार क्षेत्र वा आसपास बसोवास गर्ने, व्यापार व्यवसाय वा कुनै न कुनै आम्दानीमूलक कार्यमा आबद्ध रहेका सदस्यहरुलाई नै धेरै लघुवित्त संस्थाहरुले आफ्ता ग्राहक सदस्य बनाउने गरेको पाइन्छ । (यस्ता ग्राहक सदस्यको समूह निर्माण गर्दा यदाकदा केही नयाँ ग्राहक सदस्यहरु पनि आबद्ध हुने गर्दछन ।) यसो गर्दा सदस्य थप गर्न सहज हुने, लगानी धेरै गर्न सकिने र लघुवित्त संस्थाहरुले शाखा कार्यालयलाई तोकिदिएको लक्ष्य पनि सजिलै पूरा हुने भएको हुँदा सबैले सहज बाटो अपनाएको पाइन्छ । तर, तपाईँ साँच्चै लघुवित्त मार्फत विपन्न तथा पिछडिएका समुदायको पहुँचमा वित्तीय सेवा पुर्याउन चाहनुहुन्छ ? तिनको आर्थिक सामाजिक विकास गर्न चाहनुहुन्छ ? गरीब विपन्नको आधार, भरोसाको केन्द्र बन्न चाहनुहुन्छ ? लघुवित्त संस्थालाई दिगो तथा प्रभावकारी रुपमा संचालन गर्न चाहनुहुन्छ ? तपाईले यसका लागि सजिलो बाटो छाड्नुुपर्छ । हामीले कार्य गरिरहेको ठाउँहरुमा अहिले पनि थुप्रै मान्छेलाई लघुवित्त सेवाको खाँचो छ । तर, हामी तिनको नजिक पुग्न सकेका छैनौं वा ती हाम्रो नजिक आउन सकेका छैनन् । जबसम्म हामी नयाँ ग्राहक सदस्य छनौट गर्न प्रयास गर्दैनौं, जबसम्म हामी परम्परागत जीवन बाँचिरहेका लाखौं मान्छेहरुलाई आम्दानीमूलक कार्य गर्न उत्पेरित गर्दैनौ, तबसम्म लघुवित्त सीमित मान्छेहरुको पहुँचमा मात्रै हुनेछ । जसको नतिजा भनिरहनु परेन, हामी सबैले आजभोलि भोग्दैछौं । म यहाँहरुलाई लघुवित्त संस्थाहरुले कसरी नयाँ ग्राहक बनाउने अवसर गुमाइरहेका छन् भन्ने कुरा प्रष्ट पार्न एउटा अध्यन संस्थाले काभ्रे जिल्लाको दनुवार गाउँमा गरेको अध्यनको सानो अंश यहाँ प्रस्तुत गर्न चाहन्छुु । 

-दनुवार गाउँमा ५५ घर परिवाररहेका छन् जसमध्ये ५० घरपरिवारलाई कुनै न कुनै रुपमा वित्तीय श्रोतको आवश्यकता छ । करिब ३ किलोमिटरको दुरीमा पाँचखाल बजार छ, जहाँ करीब ८ वटा लघुवित्त संस्थाका शाखा कार्यालयहरु कार्यरत छन् । दनुवार गाउँका २० घरपरिवार लघुवित्त वित्तीय संस्थासंग आबद्ध छन् र तिनै २० घरपरिवार नै अधिकाँश लघुवित्तका ग्राहक सदस्य छन् । ती गाउँका जान्ने, बुझ्ने र तुलनात्मक रुपमा सम्पन्न घरपरिवारभित्र पर्दछन् । बाँकी ३० घरपरिवारलाई लघुवित्तको आवश्यकता छ, तर उनीहरुमध्ये १७ घरपरिवारलाई लघुवित्त संस्थाको बरेमा कुनै जानकारी छैन । बाँकी १३ घरपरिवारले लघुवित्तको बारेमा धेर थोर सुनेका त छन् तर लघुवित्तको सेवा प्राप्त गर्न सकेका छैनन्  । लघुवित्तमा आबद्ध भएका २० घर परिवार संग अन्र्तक्रिया गर्दा उनीहरु बाँकी ३० घरपरिवारलाई पनि लघुवित्तको आवश्यकता भएको कुरा स्वीकार त गर्छन् तर उनीहरु कुनै आर्थिक क्रियाकलापमा संग्लन नरहेको, गरीब रहेको र किस्ता तिर्ने श्रोत नभएको कारण उनीहरुलाई समूहमा आबद्ध गर्न नसकिने तर्क गर्छन्। त्यसैले उनीहरु ती घरपरिवारलाई आफ्नो समूहमा राख्न चाहन्नन् । त्यहाँ कार्यरत लघुवित्त संस्थाहरु पनि ती ३० घरपरिवारको सम्पर्कमा पुगेको पाइएन, बरु तिनै लघुवित्तकै सेवा लिईरहेका २० घरपरिवारले नै आफूहरुलाई अन्य लघुवित्त संस्थाहरुले समूहमा आबद्ध हुन बारम्बार भेट्ने र आग्रह गर्ने गरेको कुरा सुनाए। 

माथिको अध्ययनको सानो अंशले अहिले लघुवित्त संस्थाहरुले कस्ता ग्राहक छनौट गरिरहेका छन् र आफ्ना वरपर भएका कस्ता ग्राहक सदस्यहरु गुमाइरहेका छन् भन्ने कुरा प्रष्ट्याउँछ । तसर्थ परिश्रम, समय र लागत केही बढी लागे पनि लघुवित्त संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने हो भने अवसर नपाएका नयाँ ग्राहक सदस्यहरु छनौट गर्ने प्रयास गर्नुहोस् र आफ्नो अर्जुनदृष्टि तिनै मान्छेहरुप्रति केन्द्रित गर्नुहोस् जसलाई लघुवित्तको बारेमा कुनै जानकारी छैन र जसले आर्थिक क्रियाकलापमा संग्लन नरहेको, गरीब रहेको र किस्ता तिर्ने श्रोत नभएको कारण अवसर पाएका छैनन् ।

विधि र प्रक्रियाको अवलम्बन गर्ने
लघुवित्त संस्थाहरुले ग्राहक सदस्य छनौट गर्न विभिन्न विधि र प्रक्रियाहरु अवलम्बन गरिरहेका हुन्छन् । त्यस्ता विधि प्रक्रिया परीक्षणपछि सर्वमान्य भएर आएका हुन्छन् । तसर्थ तपाईको संस्थाले अबलम्वन गरेको विधि प्रक्रियाबमोजिम नै ग्राहक सदस्यको छनौट गर्नुहोस् । किनभने विधि प्रक्रिया अबलम्बन नगरी ग्राहक सदस्य छनौट गर्नुभयो भने तपाईले खोजेको ग्राहक नपर्न सक्छ । जसले लघुवित्त कार्यक्रमलाई असर गर्दछ । संसारभर नै लघुवित्तको ग्राहक सदस्य छनौट गर्न पि.डब्लु. आर, पि. आर. ए., आर.आर.ए. लगायतका विधि प्रक्रियाहरु अबलम्वन हुँदै आएका छन् । लघुवित्त संस्थाले अवलम्बन गरेको यस्ता विधिप्रक्रिया भित्रै रहेर ग्राहक सदस्य छनौट गर्नाले लघुवित्तमा देखिने नकारात्मक प्रभावहरुबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

साख सूचना आदानप्रदान गर्ने
नेपालको सन्दर्भमा, अहिलेसम्म सबै लघुवित्त संस्थाहरु कर्जा सूूचना केन्द्रमा आबद्ध नभएका र आबद्ध भएकाले पनि त्यसमार्फत सूूचना पाउने आधार तयार भैनसकेको अवस्थामा तपाईले ग्राहक सदस्य छनौट गर्न संचालन गर्ने तालिम अगावै त्यस क्षेत्रमा कार्यरत लघुवित्त वा त्यस्तै प्रकारका कार्य गर्ने अन्य संघ–संस्थाहरुसंग ग्राहक सदस्य बन्न चाहने मान्छेहरुको वित्तीय अवस्थाहरुको बारेमा जानकारी लिनुहोस् । खराब ग्राहक सदस्यहरुको लिस्ट तयार गरी आदानप्रदान गर्नुहोस् । स्थानीय स्तरमा कार्यरत संघसंस्थाहरुको नियमित बैठक बस्ने ब्यवस्था मिलाई खराब ग्राहक सदस्यहरुको बारेमा छलफल गर्ने व्यवस्था मिलाउनुहोस् । जसले गर्दा खराब ग्राहक सदस्य पहिचान गर्न सजिलो हुने र तपाईले छनौट गर्ने ग्राहक सदस्य असल पर्नसक्ने सम्भावना रहन्छ । 

विकृतिहरुबाट जोगिने
ग्राहक सदस्यहरुले समयमा कर्जा नतिर्ने, लिएको कर्जा सदुपयोग नगर्ने, धेरै संघ–संस्थाबाट कर्जा लिने, एउटै व्यक्तिले धेरै व्यक्तिको कर्जा चलाउने, नियमित बैठक नबस्ने, बैठक संचालनका आधारभूत क्रियाकलापको पालना नगर्ने लगायतका विकृतिहरु अहिले लघुवित्त क्षेत्रमा देखापर्न थालेका छन् । विभिन्न अध्ययनहरुले देखाएको निश्कर्षलाई आधार मान्दै तपाई यस्ता विकृतिहरुबाट जोगिन चाहनुहुन्छ भने ग्राहक सदस्य छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनुहोस् :
(क) एउटा घरबाट एकजनालाई मात्रै ग्राहक सदस्य छान्नुहोस् । 
(ख) सम्भव भएसम्म कार्यालय घर रहेको घरबेटी, वरपर दैनिक भेटघाट चिनजान भैरहने मान्छेहरु, कर्मचारीका आफन्तहरुलाई ग्राहक नबनाउनुहोस् जसले गर्दा भोलि तपाईलाई काम गर्न अप्ठारो पर्नसक्छ । 
(ग) धेरै कर्जा आवश्यक भएको भन्ने र सोको माग गर्नेलाई पनि ग्राहक सदस्य नबनाउनुहोस् जसले पछि गएर समूहका अन्य सदस्यहरुको कर्जा चलाई अप्ठारो पार्नसक्ने प्रबल सम्भावना रहन्छ । 
(घ) लघुवित्त संस्थाहरु ग्राहक खोज्दै उनीहरुकै घर आँगनमा पुग्ने भएको हुँदा, लघुवित्त संस्था खोज्दै र समूह ग्राहक तयार रहेको जानकारी गराउँदै तपाँइको कार्यालयसम्म आग्रह गर्न आउने ग्राहक सदस्यहरुबाट पनि जोगिनुहोस् । अहिले विभिन्न ठाउँहरुमा गिरोहको रुपमा यस्ता मान्छेहरु लघुवित्तबाट कर्जा लिने र अपचलन गर्ने नियतका साथ तपाईसम्म आइपुग्न सक्छन् । 
(ङ) अनिवार्य रुपमा ग्राहक सदस्य बन्न लागेका व्यक्तिको घर, परियोजना, व्यवसायको निरीक्षण गर्नुहोस् । उनीहरुका परिवारसंग कुराकानी गर्नुहोस्, जसले गर्दा तपाईँले ग्राहक बनाउन लागेको व्यक्तिको वस्तविकता जान्न मद्दत पुग्दछ ।    
 

माथि उल्लेख गरिएका विषयहरुलाई मध्यनजर गर्दै तपाईको आफ्नो संस्थाको नीति नियम, विधि, प्रक्रिया भित्र रही ग्राहक छनौट गर्ने अभ्यास गर्नुभयो भने अवश्य नै लघुवित्त क्षेत्रमा राम्रा ग्राहक सदस्यहरुको आगमन हुनेछ र परिणाम, यस क्षेत्र तथा यस क्षेत्रमा लागेका सबैको हित हुनेछ ।
-दुलेगौंडा तनहुँ । 
प्रतिक्रियाका लागि :bshndhakal@gmail.com
(लेखक, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडका वरिष्ठ प्रबन्धक हुन् ।)