काठमाण्डौ । माओवादी केन्द्रसँगको समीकरण र लोकतान्त्रिक फोरमसहित साना दलको सहयोगमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुनेमा कांग्रेस विश्वस्त छ। अहिलेको सत्तागठबन्धनसँग स्पष्ट बहुमत भएकाले देउवा सजिलै प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ। 

स्रोतका अनुसार दोस्रो चरणको स्थानीय निर्वाचनअघि सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको योजना छ। उनी त्यसको अन्तरिक तयारी पनि गरिरहेका छन्। सबै मन्त्री अहिले नै बनाउँदा निर्वाचनको मुखमा पार्टीभित्र विवाद देखिनसक्ने भएकाले तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने कांग्रेस स्रोतले जनाएको छ। 

आगामी २१ जेठमा प्रधानमन्त्रीको निर्वाचन गर्ने संसद् सचिवालयको तयारी छ। ‘शुक्रबार संसद्मा निर्वाचन कार्यतालिका आएपछि २१ जेठमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ,’ कांग्रेस नेता रमेश लेखकले भने। 

कांग्रेसलाई अर्थ, माओवादीलाई गृह कांग्रेस–माओवादीबीच सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई दिने पुरानै सहमति छ। त्यसैको आधारमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका हुन्। 

नयाँ सरकारमा मन्त्रालय भागबन्डा, दलहरूको सहभागितालगायतका विषयमा गृहकार्य गर्न कांग्रेसको तर्पmबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीका तर्पmबाट कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदललाई जिम्मा दिइएको छ। 

कार्यदलले बुधबार साँझ पनि सरकार गठन, मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफल गरेको थियो। स्रोतका अनुसार प्रधानमन्त्रीको पार्टीले अर्थ र अर्को दलले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय राख्ने सैद्धान्तिक सहमति भएको छ। ‘अन्य कति मन्त्रालय कुन दललाई दिने भन्ने विषय भने सरकारमा कति दल सहभागी हुन्छन् भन्ने कुराले पनि निर्धारण हुन्छ,’ माओवादी स्रोतले भन्यो।  

निर्वाचनअघि ५ मन्त्री मात्रै संसद्को अंकगणितमा आफ्नो पक्षमा बहुमत पक्काजस्तै भएकाले देउवाले मन्त्री छनोटको तयारीसमेत गरेका छन्। 

दोस्रो चरणको निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी उनको छ। कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र लोकतान्त्रिक फोरमबाट एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् बनाउने मनस्थितिमा देउवा रहेको स्रोत बताउँछ। 

काठमाडौं नछाड्न सांसदलाई निर्देशन
कांग्रेस संसदीय दलले सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ। ‘२१ जेठमा प्रधानमन्त्रीका लागि निर्वाचन हुने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न भनेका हौँ,’ कांग्रेसका प्रमुख सचेतक चिनजकाजी श्रेष्ठले भने। 

देउवाको पत्र कुर्दै राप्रपा
राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुन औपचारिक पत्र आएमा छलफलका लागि सकारात्मक रहेको जनाएको छ। राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाका तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताए। ‘कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट सरकारमा सहभागिता जनाउन र आफूलाई संसद्मा हुने प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र आएमा हामी सकारात्मक छौँ,’ महामन्त्री थापाले नयाँ पत्रिकासँग भने, ‘पत्र आएपछि पार्टी कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेर अघि बढ्छाैँ।’ यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।