काठमाण्डौ । सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् ।

विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये एउटा एसएमटी विद्यादेवी भण्डारी अर्को नेपाल राष्ट्रपति भवन श्री रामवरण यादव र अरू नम्बरहरू खेमचन्द्र ढकाल, दिनेश शर्मा र समिरको नाममा दर्ता छन् ।  

त्यस्तै उपराष्ट्रपति कार्यालयको टेलिफोन नारायण कुँवर सर, झा भीपी जीको नाममा दर्ता भएका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयको एक टेलिफोन नम्बर दिदीको अफिस केटीएमको नाममा दर्ता छ ।  मन्त्रालयको ०१४२११६९८ नम्बर ‘दिदीको अफिस केटीएम’मा दर्ता भएको भेटिएको छ ।

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका सरकारी कार्यालयहरूको नम्बर ट्रु कलरमा खोजी गर्दा यस्तो विश्वास नै नलाग्ने नतिजा प्राप्त भएको हो ।

ट्रु कलर मोबाइल र वेब एप एउटा यस्तो एप हो, जसले तपाईंको मोबाइलमा नभएका नम्बरबाट फोन आएमा त्यो नम्बरको वास्तविक प्रयोगकर्ता को हो भन्ने पहिले नै भनिदिन्छ तर नेपालमा व्यक्तिगत रूपमा खोलिएका सामाजिक सञ्जाल र ईमेल आईडीमा कार्यालयका फोन नम्बर राख्ने गरेकाले नेपालमा त्यसको विश्वसनीयता नभएको पुष्टि हुन्छ तर विश्वव्यापी रूपमा भने सबैभन्दा बढी प्रयोगमा आएको भर्चुअल टेलिफोन बुक ट्रु कलर नै मानिन्छ ।  ट्रु कलरमा राष्ट्रपति कार्यालयको टेलिफोन इन्टरकम सिस्टममा राखिएको ०१४४४६००७ नम्बर खेमचन्द्र ढकालको नाममा देखाउने गरेको छ ।  

यस्तै राष्ट्रपति कार्यालयकै अर्को नम्बर ०१४४४६००८ एसएमटी विद्यादेवी भण्डारी, ०१४४४६००९ नम्बर नेपाल राष्ट्रपति भवन श्री रामवरण यादव, काठमाडौँ देखाउने गरेको छ ।

त्यस्तै राष्ट्रपति कार्यालयकै सूचना तथा जनसम्पर्क अन्तर्गतको ०१४४४६०१० टेलिफोन नम्बर दिनेश शर्मा र राष्ट्रपति निवासको कार्यालयको टेलिफोन नम्बर ०१४४१८५०४ समिरको नाममा देखाउने गरेको छ ।

त्यस्तै उपराष्ट्रपति कार्यालयको ०१४२६१४५२ नम्बरको टेलिफोन नारायण कुँबर सर, ०१४२२८२८४ नम्बर झा भीपी जीको नाममा देखिन्छ ।

गृह मन्त्रालयको +९७७–१–४२११२१४ होम मिनिस्ट्री बीके पन्थी, सूचना तथा सञ्चार मन्त्रालयको फ्याक्स नम्बर +९७७–१–४२११७२९ दिनेशकुमार थपलियाको नाममा छ ।

त्यसैगरी अर्थ मन्त्रालय, प्रशासन महाशाखाको ४२११३०० टेलिफोन नम्बर निर्मलहरि अधिकारी, ४२११७४८ नम्बरको टेलिफोन शिशिर सर फिनानको नाम पाइन्छ ।

परराष्ट्र मन्त्रालयको फ्याक्सका लागि प्रयोग भएको टेलिफोन नम्बर ०१४२०००६१ प्रकाश अधिकारीको नाममा छ भने राहदानी विभागको ०१४४६०१० टेलिफोन नम्बर लोकबहादुर पासपोर्टको नाममा छ ।

यस्तै उद्योग मन्त्रालयको ०१४२११६१९ टेलिफोन नम्बर सेक्रेटरी ज्ञवालीको नाममा पाइन्छ ।

नचिनेको नम्बरबाट फोन आउँदा पत्ता लगाउने एप ट्रु कलरले नेपाली सरकारी कार्यालयहरूका फोन नम्बरको दुरुपयोगको अवस्थालाई पनि एकै पटक चिनाइदिन्छ ।

खासगरी सरकारी फोन नम्बरहरू व्यक्तिको नाममा सामाजिक सञ्जालहरूमा प्रयोग गर्दा यस्तो समस्या देखिएको हो ।  यसरी सरकारी फोनहरूको अनधिकृत प्रयोगले विभिन्न समस्या सिर्जना गर्ने सम्भावना पनि रहन्छ ।

विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक दीपककुमार श्रेष्ठले ईमेल आईडी, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा सरकारी कार्यालयका नम्बर व्यक्तिगत रूपमा दर्ता गर्न नपाउने र गर्न नहुने बताउनुभयो ।

उहाँले ट्रु कलरमा त्यस्तो जानकारी आए पनि सही र तथ्यपरक सूचनाका लागि सरकारको मन्त्रालय र कार्यालयहरूको आधिकारिक वेबसाइटमा जान आग्रह गर्नुभयो ।  व्यक्तिबाट त्यसरी प्रयोग भएका फोन नम्बर सम्बन्धित निकायकै नाममा दर्ता गर्ने कसरी भन्नेबारे उहाँले केही बताउनु भएन । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।