काठमाण्डौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री छनौटमा एकलौटी गरेपछि कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ । 

देउवाको एकलौटी निर्णयको विरोध गर्दै रामचन्द्र पौडेल समूह देउवाको प्रधानमन्त्री पदको सपथ कार्यक्रमलाई बहिस्कार गर्ने निर्णयमा पुुगेको छ ।  

पौडेल समूहको केहीबेरअघि बैठकले देउवाले मन्त्री छनौटको क्रममा आफूहरुसँग कुनै सल्लाह नगरेको आरोप लगाउँदै उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने र आफ्नो तर्फबाट मन्त्रीको नाम समेत नपठाउने निर्णय गरेको हो । 

यो निर्णयपछि सरकार गठनसँगै भागबण्डाको बिषयलाई लिएर कांग्रेसभित्रको विवादले चरम रुप लिने संकेत देखिएको छ । देउवा प्रधानमन्त्रीमा जान खोज्दा रामचन्द्र पौडेलले सिंगो कांग्रेसको नेता बन्न र उदार बन्न आग्रह गरेका थिए । 

उता, पौडेल समूहको बहिस्कारको निर्णय बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा केही मन्त्री छनौट गर्ने भएका छन् । उनको सपथ कार्यक्रम आजा दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा राखिएको छ । त्यसपछि उनले  पहिलो चरणमा आफ्ना विश्वासपात्र गोपालमान श्रेष्ठसहित केहीलाई मन्त्री बनाउनेछन् र पहिलो मन्त्रीपरिषद बैठक हुनेछ । 

पहिलो चरणमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की लगायतको सहभागिता हुनेछ । देउवाले पौडेल समूहबाट महेश आचार्यलाई अर्थमन्त्री बनाउन सक्छन् । माओवादीको तर्फबाट समेत २ मन्त्री प्रारम्भमा छनौटमा पर्नेछन् ।