काठमाण्डौ । राप्तिभेरी विकास बैंकले साधारणसभाबाट पारित भइसकेको २ सय प्रतिशत हकप्रद रद्ध गर्न नपाउने भएको छ । 

यो बैंकले चार दिनअघि सूचना निकाल्दै यसअघिको साधारणसभाबाट पारित २ सय प्रतिशत हकप्रद आउँदो असार १७ गते आह्वान गरिएको वार्षिक साधारणसभामामार्फत रद्ध गर्ने बताएको थियो । गत भदौ १७ गते सम्पन्न साधारणसभाबाट सेयरधनीलाई २ सय प्रतिशत हकप्रद दिने प्रस्ताव पारित भएको थियो । तर, यो बैंक ज्योति विकास बैंकसँग बिलय हुने भएपछि पारित भइसकेको हकप्रद एकाएक रद्धको सूचना आएको थियो । 

धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र निश्कासनको नयाँ निर्देशिका बमोजिम साधारणसभाबाट पारित भइसकेको हकप्रद बैंकले रद्ध गर्न नपाउने धितोपत्र बोर्डका सहप्रवक्ता तथा सुपरीवेक्षण विभागका निर्देशक डा. नवराज अधिकारीले बताए ।  ‘पारित भइसकेको हकप्रद रद्ध गर्नु कर्पोेरेट गभरनेन्सभित्र पनि पर्दैन ।’ अधिकारीले भने–‘सेबोनले नयाँ निर्देशिका जारी गरिसकेको अवस्थामा त यो काम गर्नै मिल्दैन ।’ उनले राप्तिभेरीले २ सय प्रतिशत हकप्रद रद्ध गर्न नपाउने र यसमा बोर्डले कडा नीति अपनाउने समेत प्रष्ट्याए ।  

हकप्रदको ढोल पिटेर कम्पनीको मूल्य बढाई पछि लगानीकर्ताहरुलाई धोका दिने प्रवृति नेपालको सेयरबजारमा उत्कर्षमा छ । केही बैंक तथा बित्तीय संस्थाले पारित भइसकेको हकप्रदको प्रस्ताव समेत धमाधम रद्ध गर्दै पूँजी वृद्धिको वैकल्पिक बाटो रोज्न थालेपछि लगानीकर्ता अन्यायमा परेका ठहर गर्दै बोर्डले संसोधित निर्देशिकामार्फत एकपटक साधारणसभाबाट पारित भइसकेको हकप्रद कुनै पनि अवस्थामा फिर्ता लिन नपाइने कडा व्यवस्था गरेको हो । नयाँ निर्देशिका लागूू भइसक्दा समेत राप्तिभेरी विकास बैंकले लगानीकर्ता र बोर्डलाई समेत झुक्याउने दुर्नियतले २ सय प्रतिशत हकप्रद रद्धको प्रस्ताव अगाडि सारेको पाइएको छ । 

यो विकास बैंकले आगामी असार १७ गते नेपालगञ्जको विनायक गेष्ट हाउसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाको मुख्य एजेण्डाको रुपमा ९.२५ प्रतिशत बोनस सेयर पारित, भदौ १७ को साधारणसभाबाट पारित २ सय प्रतिशत हकप्रद रद्ध र ज्योति विकास बैंकसँगको एक्वीजिसन प्रस्ताव पारित लगायतका छन् । 

यो पनि पढ्नुुहोस् :