इटहरी । दोश्रो जनआन्दोलन उत्कर्षमा पुुगेको बेला पूर्वाञ्चलमै इटहरी चम्किएको थियो । त्यसको कारण थियो, यहाँको हरेक दिनको फरक र आक्रामक प्रदर्शन । त्यसबेला इटहरीको जनआन्दोलनलाई नेतृत्व गर्ने, अनेक रंग दिने, सर्वसाधारणलाई प्रेरित गरी प्रदर्शनमा सहभागी गराउनेहरुको भीडमा लक्ष्मी गौतम, मीना श्रेष्ठ र मञ्जु भण्डारीको पृथक भूमिका र पहिचान थियो । विशेष गरी यी तीन बहिनीको अगुवाईमा घर घरबाट महिला प्रदर्शनकारीहरु इटहरीका सडकमा उत्रिएका थिए तानाशाही शासनको समूल अन्त गर्न । गौतम, श्रेष्ठ र भण्डारीको मित्रता पनि उस्तै थियो । आन्दोलनमा जता गए पनि सँगै जाने र उस्तै आक्रामक प्रदर्शन तथा भाषण गर्ने कलाका कारण स्थानीय संचारकर्मीहरुले उनीहरुलाई ‘जनआन्दोलनका जेठी, माइली र कान्छी’को उपमा दिएका थिए । यी तीन बहिनीमध्ये जेठी र कान्छीको स्थानीय निकायको निर्वाचनमा अनौठो संयोग जुरेको छ।

जनआन्दोलनको क्रममा भएको मसाल जुलुसको नेतृत्व गर्दै तत्कालीन विद्यार्थी नेतृ मञ्जुु भण्डारी(रातो घेराभित्र) । 
तस्विर : सोमनाथ बास्तोला

...................................................................

इटहरीमा भएको पूर्वाञ्चलकै नेतृत्वदायी जनप्रदर्शनमा महिलाहरुको प्रेरणाका पात्र बनेका तीन बहिनीमध्ये जेठी(गौतम) र कान्छी(भण्डारी) सुनसरीका २ उपमहानगरपालिकाको उपमेयरमा चुनाव लड्दैछन् । यी तीनै बहिनी नेकपा एमाले सम्बद्ध हुन् । गौतम इटहरी उपमहानगरपालिकाको उपमेयर र भण्डारी धरान उपमहानगरपालिकाको उपमेयरको रुपमा चुनावी मैदानमा छन् । जनआन्दोलनका जेठी र कान्छीको यो संयोगलाई सबैले चासोको साथ हेरेका छन् । 

जनआन्दोलनको क्रममा इटहरीको मुख्य चौकमा भएको प्रहरी दमनको क्रममा ज्यान जोगाउन भाग्ने प्रयास गर्दै लक्ष्मी गौतम(रातो घेराभित्र) ।
तस्विर : सोमनाथ

....................................................

जनआन्दोलनका बेला ‘माइली’को उपमा पाएकी मीना श्रेष्ठ ओली निकट नेतृ हुन् । उनी इटहरीको चुनावी अभियानमा खटिइरहेकी छिन् जेठी दिदी(लक्ष्मी गौतम)सहितको टिमलाई जिताउन । चुुनावी अभियानमा उनले प्रचारको विशेष जिम्मेवारी पाएकी छिन् । 

जनआन्दोलनको क्रममा केही ठाउँमा प्रदर्शनकारी मारिएपछि त्यसको विरोधस्वरुप प्रतिकात्मक ढंगले साबिकको इटहरी नगरपालिका अगाडि मीना श्रेष्ठ लगायतको अगुुवाईमा गरिएको कलात्मक र हृदयविदारक प्रस्तुती । 

.......................................................

गौतम अखिल नेपाल महिला संघको पृष्ठभूमिबाट पार्टीको मूलधारमा प्रवेश गरेकी हुन् भने श्रेष्ठ युवासंघबाट । भण्डारी चाहि अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठनबाट मूलधारमा आएकी हुन् । 

जेठी(गौतम)को चुनावी अभियानमा साथ दिंदै माइली मीना श्रेष्ठ (बायाँबाट दोश्रो, डायरी बोकेकी)

........................................................................... 

जनआन्दोलनको बेला भण्डारी अविवाहित थिइन्, श्रेष्ठ र गौतम विवाहित थिए । भण्डारीको सहास र राजनीतिको कला देखेर पार्टीका अग्रज नेता मुरारी सुवेदीको उनमा दिल बसेको थियो । यहीकारण पार्टीको समन्वयमा भण्डारीसँग नेता सुवेदीको जनवादी विवाह भएको थियो । विवाहपछि इटहरीबाट धरान पुुगेकी भण्डारीले त्यहाँ पनि पार्टीको गतिविधिमा उत्तिकै सक्रियता देखाइरहिन् । यहीकारण स्थानीय निर्वाचनमा पार्टीले उनलाई धरानबाट उपमेयरको टिकट दियो।

कसको अवस्था कस्तो ? 
जनआन्दोलनका जेठी गौतम र कान्छी भण्डारीको अवस्था निकै मजबुत छ । इटहरी एमालेको पकड क्षेत्र हो, यहाँ चुनाव जित्न निकै सहज हुुने भए पनि व्यक्तिगत मेहेनत र उसको जनसम्पर्कले पनि काम गर्ने भएकाले गौतम अहोरात्र खटिइरहेकी छिन् । तुलनात्मक रुपमा गौतम भन्दा भण्डारीको अवस्था मजबुत रहेको एक एमाले नेताले बताए । ‘भण्डारीलाई टक्कर दिने अन्य दलका उपमेयरको उम्मेद्वार कमजोर भएका कारण समेत उनलाई फाइदा भएको देखिएको छ ।’ ती नेताले भने–‘इटहरीमा निकै कडा प्रतिस्पर्धा छ । गौतमलाई केही गाह्रो पर्नसक्छ ।’ 

माइली बहिनीले चाहि कहिले अवसर पाउने ? हाम्रो जिज्ञासा मेट्दै जिल्लास्तरका ती नेताले भने–‘माइली(मीना श्रेष्ठ)को भूमिका समेत पार्टीमा विशेष छ । उनले प्रदेश सभाको निर्वाचनमा जिम्मेवारी पाउन सक्छिन् ।’