काठमाण्डौ । उद्योगीहरुले नेपाल–अमेरिका बीच सम्पन्न टिफा(ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क अग्रीमेन्ट)लाई कार्यान्वयन तहमा ल्याउने कार्यमा विशेष भूमिका निर्वाह गरिदिन न्यूयोर्क स्थित कन्सुलेट जनरलको कार्यालयको लागि नवनियुक्त काउन्सुलेट जनरल मधुकुमार मरासिनीलाई आग्रह गरेका छन् । 

मरासिनी र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच परिसंघकै कार्यालय भएको विशेष भेटघाटमा त्यस्तो आग्रह गरिएको हो । 

परिसंघका अधिकारीहरुले नेपालमा लगानीको अनुकूल वातावरण तयार हुँदै आएको वस्तुस्थितिलाई अमेरिकी लगानीकर्तासम्म पुर्याइदिन, नेपालको निकासीलाई विभिन्न कार्यक्रमको माध्यमबाट अमेरिकी बजारमा बढाउन, प्रविधि र सूचनाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको अमेरिकाको यस क्षेत्रमा सहयोग ल्याउन कुटनीति एवं निजी क्षेत्रका बीच सहकार्य आवश्यक रहेको सुुझाव समेत दिएका थिए । अर्थमन्त्रालयमा लामो समयसम्म रही निजी क्षेत्रका विषयमा राम्रो जानकारी भएका काउन्सुलेट जनरल मरासिनीको भूमिका महत्वपूर्ण हुने उद्योगीहरुको विश्वास व्यक्त गरेका थिए ।  

सो अवसरमा नवनियुक्त काउन्सुलेट जनरल मरासिनीले नेपाल र न्यूयोर्कसँग मात्र पनि व्यापार, लगानी, प्रविधि, बीमा आदि क्षेत्रको आपसी लगानी र सम्बन्ध बढाउन सकेमात्र पनि नेपालको विकासमा थप सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै आफ्नो कार्यकालमा यस तर्फ यथासक्य प्रयास रहने आश्वासन दिएका थिए ।