काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सेयर बजारका लगानीकर्तामा स्वभाविक रुपमा धेरै प्रेसर(दवाब)हरु हुन्छन्, यही कारण यो अवधिमा बजार घट्छ । घट्दो बजारमा थप केही प्रेसरहरु देखिएपछि साताको पहिलो कारोबार दिन आइतबार बजारमा २२ अंकको पहिरो गएको छ । 

नेप्से परिसूचक घटेर १५४१.८२ अंकमा झरेको छ भने अधिकांश समूहको सूचकमा रातो पोतिएको छ । 

आइतबार बजारलाई थप घटाउने मुख्य कारणको रुपमा सेयर कारोबारको क्रममा ब्रोकरहरुले लिने कमिसनमा भ्याट लगाउने सरकारी तयारी रह्यो । सरकारले २ ब्रोकर कम्पनीलाई ४ वर्षदेखिको कमिसनमा भ्याट लगाउने भन्दै पत्र काटी बक्यौतासहितको रकम तिर्न भनेपछि अघिल्लो साताको अन्तिम कारोबार दिन ब्रोकरहरुले आन्दोलन गरी बजार ठप्प पारेका थिए । स्टक ब्रोकर एशोसिएसनसँगको छलफलपछि अर्थमन्त्रालयले केही समयपछि चाहि सेयर कारोबारमा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाउने भनेको खबर सार्वजनिक भएपछि बजारमा बिक्रीको चाप देखिएको हो । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार सरकारले निकट भविष्यमै सेयर कारोबारमा १३ प्रतिशतको दरले भ्याट लगाउने खबर बाहिरिएपछि ठूला लगानीकर्ताहरुले सेयर बिक्रीको हतारो देखाएका छन् । 'सेयर किन्दा र बिक्री गर्दा समेत छुट्टा छुट्टै १३ प्रतिशतको दरले कर तिर्नुपर्ने देखिएपछि लगानीकर्ता तर्सिएका छन् ।' उनले भने-'यो दरको भ्याटले साना लगानीकर्तालाई धेरै फरक नपरे पनि ठूला लगानीकर्तालाई निकै ठूलो फरक पर्छ, यही कारण समेत बजारमा बिक्रीको चाप बढी नेप्से थप घटेको छ ।'

बजार घटाउन भ्याट लाग्ने खबरले सहयोग गरे पनि त्यसभन्दा अगाडिदेखि नै बजार निरन्तर घटिरहेको थियो । भ्याटको प्रसंग बाहेक बजारमा अहिले के कस्ता प्रेसर छन्, जसका कारण बजार घटिरहेको हो त ? हाम्रो जिज्ञासामा पौड्यालले बर्षान्तको समयमा मार्जिन कलको प्रेसर, कतिपय ऋणहरुको सेटलमेन्टको प्रेसर, सेयरबजारलाई नेतृत्व गर्ने बैंक र बिमा समूहमा हराएको आकर्षण, अझै असहज अवस्थामै रहेको तरलताको अवस्था, सकारात्मक कुराहरुको अभाव जस्ता कारणले समेत बजार घट्दो क्रममा रहेको बताए । 'बर्षान्तमा बैकिंग क्षेत्रमा आकर्षण बाँकी छैन ।' उनले भने-'बिमा समितिले चुक्तापूँजी तोकिदिएपछि बिमा समूहमा समेत आकर्षण रहेन । बैंक र बिमा केन्द्रीत सेयर बजार यहीकारण घटिरहेको हो ।'