काठमाण्डौ । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ ।

‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।

महान् राजनीतिक दार्शनिक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुलु को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टीु गरेकै कारण आज गणतन्त्रप्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उहाँले दिनुभयो ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमतसंग्रह गर्न दललाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी, सर्वसाधारणको दैनिकीलगायत क्षेत्रमा गणतन्त्रका ठेकेदारहरूले गरेको लुट नै आजको असन्तुष्टि हो । महेन्द्रले जग बसालेको आर्थिक पूर्वाधारसमेत प्रजातन्त्र र गणतन्त्रका नाममा सिध्याउने कार्य प्रमुख दलबाटै भएको छ । त्यसैले मुलुकको इतिहास र भूगोल बचाउन पनि राजतन्त्र अपरिहार्य छ ।'

गोरखनाथ मृगस्थली पुस्तकालयमा कार्यरत बालानाथले मुलुक अत्यन्त जटिल र गम्भीर अवस्थाबाट गुज्रिरहेकाले यो देशको संस्कार, संस्कृति र सभ्यता जोगाउन पनि राजतन्त्र आपरिहार्य रहेकोमा जोड दिनुभयो ।

सिन्धुपाल्चोकका ६३ वर्षीय केशर खड्काले महाभूकम्पबाट पिल्सिएका सिन्धुपाल्चोकलगायत जिल्लाका पीडितको जप ‘राजा आऊ छाना देऊु भन्ने रहेको बताउनुभयो ।

तत्कालीन राजसभाका सदस्य गुल्मीका ८४ वर्षीय वैकुण्ठबहादुर चन्दले गणतन्त्र नचल्ने भन्दै राजा चाहिनेमा जोड दिनुभयो ।

स्थानीय चुनाव भए पनि मुलुकमा शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘जनताको कर लुट्दै चुनावमा जाने सत्ता र प्रतिपक्षी दलले २१ औं शताब्दीका युवाको मागलाई सम्बोधन गर्न सक्दैनन् ।' यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।