काठमाण्डौ । राप्रपाले सहकार्यका लागि उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिनुपर्ने माग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शनिबार भएको छलफलमा राप्रपाले उक्त सर्त राखेको हो। 

छलफलमा राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणा सहभागी थिए। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा थापाले सर्त पूरा नभए सरकारमा सहभागी नहुने र संशोधनमा सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन्। राणाले राप्रपाको मागबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको बताए।

‘संसद्मा पार्टीको आकारअनुसार सरकारमा उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिनुपर्ने माग हाम्रो पार्टीका तर्फबाट राखिएको हो,’ राणाले भने, ‘तर, प्रधानमन्त्री दिने मनस्थितिमा भएजस्तो लागेन। छलफल गरौँला, सबैलाई मिलाउनुपर्ने छ भन्नुभयो।’ यो खबर आजको नयाँपत्रिकामा छापिएको छ।