काठमाण्डौ । गत आर्थिक वर्षको अन्तसम्म पनि खासै गति लिन नसकेको बजारले आर्थिक वर्षको पहिलो दिन पनि अपेक्षित प्रदर्शन गर्न सकेन । त्यसो त बजारमा सकारात्मक प्रभाव पार्ने बिषयहरुमा ठूलो परिवर्तन नआएका कारण समेत बजार तत्काल बढ्न नसकेको देखिएको छ । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल समेत बजारमा तत्काल ठूलो परिवर्तन नआउने दाबी गर्छन् । उनको भनाईमा तरलता, ब्याजदर र कर्जा लगायतको बिषयमा ठूलो परिवर्तन नभएसम्म बजार बढ्ने र उछालको गति समात्ने कुनै आशा गर्न सकिन्न । 

पौड्यालले बिजशालासँग कुरा गर्दै बर्षान्तरसँगै खासै बढ्न नसकेको बजार आगामी दिनमा तत्कालै बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पारे । ‘धेरै लगानीकर्ताले मौद्रिक नीतिलाई कुरेका थिए, त्यसबाट बढ्दो ब्याजदर लगायतका समस्या सम्बोधन होला भन्ने आशा थियो ।’ उनले भने–‘त्यो नरहेपछि अहिले लगानीकर्ताको मोरल डाउन भएको अवस्था छ ।’ 

उनले तरलताको अवस्थामा खासै सुधार नभएको, ब्याजदरलाई नियन्त्रण गर्ने भरपर्दो प्रयास समेत गरिएको र नयाँ कर्जा प्रवाह समेत नभइरहेकोले यसको प्रभावले तत्काल बजारमा ठूलो बढोत्तरी हुने आशा गर्न नसकिने बताए । ‘मेरो विश्लेषणमा बजार अझै झिनो उतारचढावमै अलमलिएला ।’ उनले भने–‘आइतबारको बजार हेर्दा समेत नेप्से परिसूचक झिनो अंकले बढेको छ, कारोबार रकम पनि एउटा बिमा कम्पनीको संस्थापक सेयरले मात्रै २४ करोड बढीको कारोबार भएको छ । रियल कारोबार ४५ करोडको हाराहारीमा मात्रै छ । यसले समेत आगामी दिनमा बजारमा ठूलै बढोत्तरी हुने अवस्था देखिदैन ।’ 

अब कम्पनीहरुले बोनस तथा राइट सेयर तत्काल दिने अवस्था पनि नरहेकोले बजारमा केही समयसम्म चमक नदेखिने उनको दाबी छ । ‘अहिलेकै अवस्था जारी रहने हो भने बजारमा खासै उतारचढाव हुनेछैन, स्थिर अवस्थामै रहनुु नै ठूलो कुरा हो ।’–उनले थपे ।