काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि केन्द्र(आईसीटी सेन्टर० स्थापनामा सहयोग गरेको छ । 
      
नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक ३० जीबी डेटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । 

कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि.मा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ । 

नेपाल टेलिकमले गत आ.व. २०७२/७३ मा पनि पशुपति कन्या मा.वि. चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मा.वि. मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मा.वि. छत्रेदेउराली धादिङ, रसुवा उच्च मा.वि. धुन्चे रसुवा र विन्द्रावति उच्च मा.वि. मसेल गोरखामा यस प्रकारको आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन समेत भइरहेको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।