काठमाण्डौ । माछापुच्छ्रे बैंकले आज(बिहीबार)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

यो बैंकले हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले हकप्रदको बिक्री खुल्ला गरेको हो । 

बैंकले आफ्ना सेयरधनीका लागि १ सय रुपैयाँ अंकित मूल्यका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । 

यो बैंकले हकप्रद प्रयोजनका लागि गत जेठ १६ गते बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ १५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

हकप्रद खरीदका लागि इच्छुक सेयरधनीले एनएमबी क्यापिटल लिमीटेडको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालयहरुमा गएर आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोड रहेको छ । १२ प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७ अर्ब ३९ करोडको उचाईमा पुुग्नेछ । ८ अर्बका लागि अपुुग रकम यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस सेयर वितरण गरेर पुर्याउनेछ । 

यो बैंकको अन्तिम सेयर बिक्री मूल्य प्रति कित्ता ३ सय ७२ रुपैयाँ रहेको छ ।