काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समृद्धि र विकासका आफ्ना सूत्रहरु सुुझाउँदै र संभावनाको बिषयमा चर्चा गर्दै निजी क्षेत्रको व्यथा पनि सुनाउन भ्याए । ‘सरकारले बनाएका काला कानूनबाट निजी क्षेत्र प्रताडित र आतकिंत छ ।’ उनले भने–‘व्यवसाय गरेर खान डराउने अवस्था छ । ती सबै काला कानून खारेज हुनुपर्छ ।’ 

अध्यक्ष शर्माले आफ्नो संस्थाको १४ औं वार्षिकोत्सव समारोहमा ‘कालो कानून’ खारेजीको कुरा उठाउँदा कार्यक्रम हलमा उपस्थित उद्योगी व्यवसायीको समूहले तालीको निकै ठूलो पर्राले समर्थन गरेका थिए । अध्यक्ष शर्माले कालो कानून खारेजीको कुरा उठाउँदा दर्शकदिर्घाबाट तालिको पर्राले समर्थन भए पनि कार्यक्रममा प्रमुख अतिथिको रुपमा आसिन प्रधानमन्त्री शेरबहादुर देउवा भने अलमलमा परेका देखिए । उनले मञ्चमा सँगै रहेका उद्योगपति विनोद चौधरीसँग खासखुस गरेका देखियो । 

जब चौधरीको बोल्ने पालो आयो, अनि मात्र उनले प्रम देउवासँगको खासखुसको राज खुलाए । ‘मलाई अघि प्रधानमन्त्री जीले यो कालो कानून भनेको के हो भनेर सोध्दै हुनुुहुुन्थयो ।’ प्रधानमन्त्रीलाई परेको फसादको बिषयमा प्रष्ट्याउँदै विनोद चौधरीले भने–‘उद्योगपति र व्यापारी जति सबैलाई चोर र कानून प्रयोग गर्ने र कर उठाउनेलाई चाहि इमानदार भनेर ठान्ने कालो कानूनको काम छैन अब ।’ यस्तो मानसिकता समेत ब्यूरोक्रेसीमा रहेकाहरुले त्याग्नुपर्ने उनले सुुझाव दिए । 

उनले भने–‘उद्योगपति र व्यापारीलाई चोर देख्ने कानून खारेजी मात्र होइन, तपाई हाम्रो मानसिकता समेत सुधार्न आवश्यक छ ।’ 

चौधरीले देउवालाई अथ्र्याएपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले समेत कालो कानून खारेज हुनुपर्नेमा सहमति जनाए । ‘एमाले काला मात्र होइन, खैरा कानून समेत नराख्ने पक्षमा छ । राम्रो र सेता कानून मात्र राख्नुुपर्छ अब ।’ उनले भने–‘कहाँ कहाँ कालो कानून छ तपाईहरु भन्नुहोस्, हामी हटाउँछौ ।’ 

माओवादी अध्यक्ष प्रचण्डले समेत सरकारले निजी क्षेत्रलाई अप्ठ्यारा हुने सबै कालो कानून खारेज गर्ने बचन दिए । ‘अब निजी क्षेत्रसँगको साझेदारीको कानून बन्छ ।’–उनले थपे । 

चौधरी र त्यसपछिका वक्ताहरुबाट कालो कानूनको बिषयमा बुुझेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले आफ्नो सम्बोधनको क्रममा सबै काला कानून खारेज गरिदिने आश्वासन दिए । ‘तपाईहरुलाई अप्ठ्यारो कहाँ कहाँ छ, भन्नुपर्यो ।’ उनले भने–‘कहाँ–कहाँ समस्या छ थाहा पाउँ । उद्योग खोल्न के–के सुविधा चाहिन्छ त्यो पनि थाहा पाउँ । सबै कुराको डाफ्ट तयार गरेर आउनुहोस्, ऐन कानून परिवर्तन गर्न म तयार छुु ।’