काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालुु आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् । 

मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

नेपाल चेम्वर अफ कमर्सले ‘विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा’ विषयमा सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् । उनले व्यापार घाटा कम गर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । मुलुकको कुल लगानीमा दुई तिहाई बढी लगानी निजी क्षेत्रबाट भइरहेको उल्लेख गर्दै यो महत्वपूर्ण भूमिका निरन्तर हुनुपर्नेमा उनको जोड थियो ।

अन्तरक्रियामा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सफल स्थानीय निकायको निर्वाचनसँंगै सबैमा खुशी छाए पनि व्यापारीहरुमा भने दोहोरो करको मार पर्ने हो कि भन्ने त्रास व्याप्त बनेको बताए । स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने उनको माग थियो ।

अध्यक्ष श्रेष्ठले लगानीको वातावरण बनिरहेको बेला फेरि लोडसेडिङ हुन थाल्ने हो कि भन्ने चिन्ता छाएको बताउँंदै अर्थ मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा जोड दिए । उनले उजुरीको आधारमा मात्र नभई प्रमाणित भएपछि मात्रै व्यापारीमाथि कारबाहीको कैंची चलाउन अर्थमन्त्रीसँग आग्रह गरे । 
 

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य रणबहादुर श्रेष्ठले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा विषयमा प्रस्तुतीकरण दिएका थिए ।