काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा अधिकांश वाणिज्य बैंकहरुले खूद नाफातर्फ छलाङ मारेका छन् । पूँजीवृद्धिको चटारोका कारण धेरैले अघिल्लो आर्थिक वर्षको तुलनामा प्रति सेयर आम्दानीलाई नियन्त्रणमा राख्न सकेनन् । सँगै, प्रति सेयर नेटवर्थ समेत नियन्त्रित हुन सकेन । हालसम्म देशका १७ वाणिज्य बैंकले चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा लगानी गर्नुअघि(सेयर किन्नुुअघि) प्रमुख सूचकहरुमा को कति बलियो छ ? कसको कति प्रगति छ ? हेर्नुपर्ने हुन्छ । हामीले वाणिज्य बैंकहरुले चौथो त्रैमासिक अवधिमा प्रमुख ९ सूचकमा गरेको प्रगति बुँदागत रुपमा यहाँ विश्लेषणको प्रयास गरिएको छ :

१.चुक्तापुँजी
अहिले बैंक तथा वित्तीय संस्थाको शेयर किन्दा तोकिएको पुँजी पुग्न बाँकी, तर सो पुर्याउने आधार भएको बैंक छान्नु उपयुक्त हुन्छ । हालसम्म चौथो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका १७ वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकले राष्टबैंकले तोकेको चुक्तापूँजी पुर्याइसकेको छ । यो बैंकको चुक्तापूँजी समीक्षा अवधिमा ८ अर्ब ८ करोड रुपैयाँ छ । चुक्तापूँजीको हिसाबले विवरण सार्वजनिक गर्ने १७ बैंकमध्ये लक्ष्मी, एनबी, कृषि विकास र सनराइज टप ५ मा छन् । कसको पूँजी कति छ ? हेर्नुहोस् टेबल:

२.प्रतिसेयर आम्दानी

लगानी सम्बन्धी निर्णयको सर्वमान्य एउटा आधार भनेको प्रतिशेयर आम्दानी(EPS)पनि हो । प्रतिशेयर आम्दानी अर्थात् इपिएसले कम्पनीले चुक्तापुँजीमा हासिल गरेको मुनाफा अर्थात् प्रत्येक शेयरमा भएको कमाई देखाउँछ । यो जति बढि भयो त्यति नै राम्रो हुन्छ । सामान्यतः प्रतिशेयर आम्दानी निकाल्न खुद आम्दानीलाई शेयर संख्याले भाग गरे पुग्छ, तर केही बैंकहरूले एनएफअारएस विधि अपनाएर प्रती शेयर अाम्दानी निकालेका छन् । यसमा भारित अाैसत पुँजीलाई ध्यान दिईने हुँदा लाभांस क्षमता अनुमान गर्न सकिँदैन । यहाँ तुलनाका लागि सबैलाई एउटै सुत्र प्रयाेग गरि पुनः गणना गरिएकाे छ । १७ वाणिज्य बैंकमध्ये नवील बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च छ । यो बैंकको इपीएस ५८.५४ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा पूँजीवृद्धिको चटारोका कारण अधिकांशको यस्तो आम्दानी घटेको छ । समीक्षा अवधिमा मेगा बैंकको इपीएस स्थिर छ भने बाँकी १६ वाणिज्य बैंकमध्ये प्रभूू बैंकले मात्र इपीएसमा राम्रो प्रगति गरेको छ, अरु सबै बैंकको इपीएसमा पहिरो गएको छ । गत वर्ष १९.५१ रुपैयाँमा सीमित इपीएसलाई प्रभूू बैंकले बढाएर २९.७८ रुपैयाँ पुर्याएको हो । अन्य बैंकको इपीएसको तुलनात्मक अवस्था विश्लेषणका लागि टेबल हेर्नुस:

३.मूल्य-आम्दानी अनुपात
यसलाई पिई रेसियो पनि भनिन्छ । यसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्य जनाउँछ । यस्तो अनुपात वा गुना जति कम भयो त्यति राम्रो हो । सामान्यतः १० भन्दा कम पीई रेसियो भएका र कम्पनीको भविष्य ठिक भएको अवस्थामा जसरी पनि किन्नु, १०–१५ पाए किन्ने, १५–२० किन्नु उपयुक्त, २०–२५ विचार गरेर किन्ने र यस्तो अनुपात २५ भन्दा बढी भएको अवस्थामा निकै विचार गरेर किन्नुुपर्ने सेयर जानकार दिलिप मुंनकर्मीको सुुझाव छ । पछिल्लो बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यस्तो रेसियो निस्किन्छ । हामीले यहाँ बिहीबारको अन्तिम कारोबार मूल्यलाई लिएर पीई रेसियो निकालेका छौ । सबैभन्दा कम पीई रेसियो कृषि विकास बैंकको १३.०१ गुणा रहेको छ । प्रभूू बैंक १३.३३ गुणासहित १७ वाणिज्य बैंकमध्ये दोश्रो स्थानमा छ भने ग्लोबल आइएमई बैंक १५.७८ गुणासहित तेश्रो स्थानमा छ । बाँकी वाणिज्य बैंकको पीई अनुपातका लागि टेबल हेर्नुहोस्:

४.नेटवर्थ
यसले कम्पनीको वर्तमान अवस्थालाई झल्काउँछ । यो विगतमा १०० रुपैयाँको शेयरको वर्तमान अवस्था हो । नेटवर्थ सकारात्मक नै हुनुपर्छ अर्थात १०० भन्दा बढी हुनुपर्छ । जति बढी नेटवर्थ त्यति बलियो हो । चौथो त्रैमासिक अवधिसम्मको नेटवर्थका आधारमा नबील बैंक २४६ रुपैयाँसहित सबैभन्दा बलियो अवस्थामा देखिएको छ । कृषि विकास बैंक २३४.९१ रुपैयाँसहित १७ वाणिज्य बैंकमध्ये दोश्रो स्थानमा, १६६.०७ रुपैयाँसहित एनएमबी बैंक तेश्रो स्थानमा रहेको छ । बाँकी बैंकको नेटवर्थको अवस्था हेर्न टेबल हेर्नुहोला:

५.खुद मुनाफा : यसले कम्पनीको उक्त अवधिको खुद मुनाफा अर्थात् सबै प्रकारको खर्च र कर कटाएर शेयरधनीहरुका लागि बाँड्न उपलब्ध हुने खुद रकम देखाउँछ । बढी व्यवसायिक मुनाफा भएको कम्पनी अर्थात् खुद ब्याज तथा कमिसन आम्दानी बढी भएको बैंक राम्रो मानिन्छ । हामीले खूद नाफातर्फ १७ वाणिज्य बैंकहरुको अघिल्लो वर्षको चौथो त्रैमाससँग समीक्षा अवधिको तुलना गरेका छौ । नबील बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी ३ अर्ब ६२ करोड खूद नाफा आर्जन गरेर आफूलाई १७ बैंकमा टप स्थानमा राख्ने सफलता पाएको छ । अघिल्लो वर्षको तुलनामा नवीलको खूदनाफातर्फको फड्को समेत अनुकरणीय छ । २ अर्ब ७७ करोड खूद नाफासहित कृषि विकास बैंक दोश्रो स्थानमा रहे पनि अघिल्लो वर्षको तुलनामा यो बैंकले खूद नाफा खासै धेरै बढाउन सकेन । अघिल्लो वर्ष यही अवधिमा कृषि बैंकको यस्तो नाफा २ अर्ब ४६ करोड थियो । नाफामा छलांग मार्दै २ अर्ब ३ करोड कमाएको ग्लोबल आइएमई बैंक तेश्रो स्थानमा छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३८ करोड मात्र कमाएको थियो । बाँकी कम्पनीको तुलनात्मक अवस्थाका लागि टेबल हेर्नुहोस्:

६.खराब कर्जा : यसलाई नन परफरमिङ लोन-NPL अर्थात भाखा नाघेको ऋणको रुपमा पनि बुुझ्न सकिन्छ । वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको चातुर्यता पनि देखाउँछ । एनपिएल जति कम भयो, त्यति राम्रो मानिन्छ । चौथो त्रैमासिक विवरण प्रकाशित गर्ने १७ वाणिज्य बैंकमध्ये कसैको पनि यस्तो कर्जाको अनुपात ५ प्रतिशत भन्दा माथि छैन । सबैभन्दा कम ०.०१ प्रतिशत एनपीएल सानिमा बैंकको छ । ०.१९ प्रतिशतसहित एसबीआई दोश्रो स्थानमा, ०.३६ प्रतिशतसहित एनआइसी एशिया तेश्रो स्थानमा छन् । सबैभन्दा बढी यस्तो कर्जा प्रभूू बैंकको रहेको छ । यो बैंकको ४.२९ प्रतिशतको अनुपातमा यस्तो कर्जा रहेको छ । तर, गत वर्षको यही अवधिमा प्रभूूको यस्तो अनुपात ८ प्रतिशत भन्दा माथि थियो । खराब कर्जाको सुधारमा यो बैंकले हासिल गरेको सफलता अनुकरणीय छ । अन्य बैंकको खराब कर्जाको अवस्था कस्तो छ ? टेबल हेर्नुहोस्:

७.खूद ब्याज आम्दानी : कुनै पनि कम्पनीले नाफा कमाउने वा बढाउने प्रमुख आधार भनेकै व्यवसाय बिस्तार गर्नु हो । जसले व्यवसाय बिस्तारमा बढी सफलता पाउँछ, यसले राम्रो नाफा कमाउँछ । तर, बित्तीय विवरणमा कसले व्यवसाय बिस्तार कुन स्तरमा गरेको छ भन्ने बिषय पत्ता लगाउने एउटा विधि हो खूद ब्याज आम्दानी । खूद ब्याज आम्दानी जति बढी भयो त्यति राम्रो । बढी खूद ब्याज आम्दानी हुनु भन्नुको अर्थ व्यवसाय बिस्तारमा सो कम्पनीले फड्को मारिरहेको छ भन्ने बुुझाई हो । समीक्षा अवधिमा हेर्दा कृषि विकास बैंकको खूद ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । १७ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको खूद ब्याज आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ९ अर्ब ३ करोडसहित नबील बैंक दोश्रो स्थानमा छ भने तेश्रो स्थानमा रहेको एनएमबी बैंकले ४ अर्ब २६ करोड खूद ब्याज आम्दानी गरेको छ । बाँकी बैंकहरुको खूद ब्याज आम्दानीका लागि टेबल हेर्नुहोस् :

८.निक्षेप र कर्जा परिचालन : बैंकहरुको मुख्य विजिनेश भनेकै बढीभन्दा बढी निक्षेप संकलन गरी राष्टबैंकले तोकेको सीमाभित्र रही कर्जा परिचालन गर्नु हो । यसकारण, बैंकहरुको निक्षेप जति बढी भयो सोही अनुसार कर्जा परिचालन गर्ने क्षमता बन्दछ । त्यसकारण निक्षेप संकलन र कर्जा परिचालनको अवस्थाको बिषयमा पनि विशेष ध्यान दिनुपर्छ । कुनै पनि बैंकमा निक्षेप संकलनमा वृद्धि हुनुु भनेको सम्बद्ध कम्पनीप्रतिको निक्षेपकर्ताको विश्वास समेत बढ्ने क्रममा रहेको भन्ने हो । निक्षेपकर्ताले जुन बैंकमा आफ्नो आम्दानी सुरक्षित महसुस गर्छ, त्यसैमा गएर पैसा जम्मा गर्छ । यसले बैंकको बित्तीय अनुशासन र चुस्त व्यवस्थापकीय क्षमता पनि दर्शाउँछ । निक्षेप संकलन गरेर मात्र हुँदैन, तोकिएको सीमाभित्र रहेर कर्जा परिचालन गर्न सकिएन भने बैंकको विजिनेश जम्दैन । त्यसकारण कर्जाको अवस्था पनि हेर्नुपर्छ । 

हामीले समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा परिचालनको अवस्था पनि हेर्ने कोशिश गरेका छौ । १७ वाणिज्य बैंकमध्ये यो अवधिमा सबैभन्दा बढी नबील बैंकले १ अर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ । १ खर्ब १ अर्ब ९१ करोड निक्षेपसहित ग्लोबल आइएमई बैंक दोश्रो स्थानमा छ । तेश्रो स्थानमा रहेको कृषि विकास बैंकले समीक्षा अवधिमा ९९ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ । बाँकीको निक्षेप संकलनको अवस्थाका लागि टेबल हेर्नुहोस्:

बढी निक्षेप संकलन गरेपछि सोही अनुसार सीमाभित्र रही कर्जा परिचालन अनिवार्य रुपमा गर्नैपर्छ । यहीकारण निक्षेप संकलन झै कर्जा परिचालनमा पनि माथिका तीनै बैंक नै अगाडि छन् । समीक्षा अवधिमा नबील बैंकले ९१ ऋर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । यस्तै, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकले क्रमशः ८८ अर्ब २९ करोड र ८० अर्ब ८१ करोड कर्जा परिचालन गरेका छन् । यसरी हेर्दा निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक दोश्रो स्थानमा रहे पनि कर्जा परिचालनमा भने तेश्रो स्थानमा धकेलिएको छ । बाँकी वाणिज्य बैंकहरुको कर्जा परिचालनको अवस्था बुुझ्न टेबल हेर्नुहोस्: