काठमाण्डौ । लक्ष्मी बैंकले आइतबार रुपन्देहीको मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । 

भैरहवा र बुटवल पश्चात बैंकको यस क्षेत्रमा यो तेस्रो शाखा हुनेछ । मणिग्राम शाखा, जोगीकुटिबाट स्थानान्तरण भएको हो र जोगीकुटिमा कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुलाई सबै सेवा, बुटवल शाखाबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

अब लक्ष्मी बैंकको शाखा सञ्जाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ८८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको बिस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरेको छ । 

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेषगरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जसअनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ । 

आ.व. २०७३/७४ मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा परिचालन गरेको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मीभ्यालू फण्ड नामक दोस्रो म्यूचुअल फण्ड सेवाको समेत सफलता पूर्वक संचालन गरिसकेको छ ।