काठमाण्डौ । चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक झनै बलियो बनेको छ । बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ भने पूँजी बढ्दा समेत प्रति सेयर आम्दानीमा राम्रो प्रगति गर्ने सफलता पाएको छ । 

यो बैंकले अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ५५ करोड खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ३ अर्ब १६ करोड नाफा कमाएको छ । 

व्यवसाय बिस्तारमा अझ खरो उत्रिएका कारण यो बैंकको खूद ब्याज आम्दानीमा पनि फराकिलो वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ९२ करोड रहेको यस्तो आम्दानी वृद्धि भई यो वर्ष ४ अर्ब ७८ करोडको उचाईमा पुुगेको छ । ३ अर्ब ६९ करोड रहेको संचालन नाफा बढेर ४ अर्ब ८० करोड पुुगेको छ । 

आम्दानीसँगै यो बैंकको कर्मचारी खर्च र अन्य संचालन खर्चतर्फको तीव्र बढोत्तरी भविष्यमा प्रगतिका लागि चुनौति बन्ने देखिन्छ । 

बैंकले विदेशी मुद्राको कारोबारबाट मात्र ६२ करोड १४ लाख आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष ५३ करोड ३२ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ८ अर्ब निक्षेप संकलन गरी ८७ अर्ब कर्जा परिचालन गरेको थियो । 

इन्भेष्टमेन्ट बैंकले समीक्षा अवधिमा जगेडा कोषतर्फ पनि उत्कृष्ट प्रगति गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ५८ करोड रुपैयाँ रहेको यस्तो कोषमा समीक्षा अवधिमा बैंकले ४ अर्ब बढी थपेर ११ अर्ब ७८ करोड पुर्याएको छ । 

अघिल्लो वर्ष ०.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.८३ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष ८ अर्ब ७० करोड रहेको चुक्तापूँजी बढेर ९ अर्ब २४ करोड पुुगे पनि यो बैंकको प्रति सेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष २९.३० रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष ३४.२० रुपैयाँ पुुगेको हो । 

यो अवधिमा प्रति सेयर नेटवर्थ २२७.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.५२ गुणा कायम भएको छ ।