काठमाण्डौ । बाढीपहिरोबाट पीडितहरुका लागि नेपाल उद्योग परिसंघले ५० लाख बराबरको राहात कोष स्थापनाको घोषणा गरेको छ । 

परिसंघका पदाधिकारी समितिको साउन ३० गते बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

बाढीपहिरोबाट विस्थापितहरुको राहातका लागि परिसंघद्वारा प्रथम चरणमा रु. ५० लाखको राहातकोष स्थापना गरी सो कोषबाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधि एवं आपातकालिन सामान प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

साथै, यस राहात कार्यका लागि प्रभावकारी रुपमा समन्वय एवं थप रकम संकलन गर्न परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरको संयोजकत्वमा “बाढी,पहिरो पीडित राहात कार्यदल” समेत गठन गरिएको परिसंघले जनाएको छ । 

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेत सल्लाहकार रहेका सो बैठकले विपत्तिमा परेका जनताको सहयोगार्थ एनआइसी एसिया बैँक लिमीटेडमा नेपाल उद्योग परिसंघको नामको चल्तीखाता सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ । एनआइसी एसिया बैँक लिमीटेड, थापाथलीमा खोलिएको ५४४४३०४०११५२४००२ खातामा आ–आफ्नो तर्फबाट नगद सहयोग गर्न समेत आ–आफ्ना सदस्य संस्थालगायत सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय समेत गरिएको परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।