काठमाण्डौ । गणतन्त्र ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भदौ १ गते एक समारोहकाबीच नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत  चन्द्रप्रसाद ढकालले वाणिज्य दुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन्।

कार्यक्रममा नेपालमा बसोबास गरिरहेका ईण्डोनेशियन नागरिक, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । 

नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक सम्बन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको छ । 

नेपालका लागि ईण्डोनेशियाको गैह्रआवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मे देखि नेपाली नागरिकहरुलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको छ । यो व्यवस्थाले नेपालीहरुलाई ईण्डोनेशिया भ्रमण सहज बनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको छ । 

ईण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।  साथै नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच व्यापार व्यवसायका थुप्रै संभावनाहरु छन् ।