काठमाण्डौ । विगत २४ वर्षकै उच्च आर्थिक वृद्धिदर हासिल गरेको देशको चालुु खाता भने करोडौं घाटामा गएको छ । 

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७३/७४ को प्रमुख आर्थिक सूचकहरुको विश्लेषण गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । 

बस्तुु आयातमा भएको उच्चतम वृद्धिका कारण गत वर्ष १४० अर्ब ४२ करोड बचतमा रहेको चालुु खाता यो वर्ष १० अर्ब १३ करोडले ऋणात्मक रहेको केन्द्रीय बैंकले प्रष्ट्याएको छ । 

‘निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो ।’ राष्ट्रबैंकले भनेको छ–‘त्यसैगरी, अघिल्लो वर्ष रु. १८८ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा रु. ८२ अर्ब १५ करोडले बचतमा रहेको छ ।’

अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७४ मा कुल वस्तु निर्यात ९.९ प्रतिशत र कुल वस्तु आयात ३० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष वस्तु निर्यात २८.८ प्रतिशत र वस्तु आयात ७.४ प्रतिशतले घटेको थिए । 

आर्थिक बर्ष २०७४ मा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु. ७३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१/७२ को रु. ८५ अर्ब ३२ करोडको स्तरभन्दा न्यून नै छ । समीक्षा अवधिमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३.१ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २.८ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर रु. ९९० अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८.१ प्रतिशत रहेको छ ।

समीक्षा वर्ष कुल वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढी रु. ९१७ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २ प्रतिशतले बढेको थियो । समीक्षा वर्ष निर्यात–आयात अनुपात ७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्षको ३१.३ प्रतिशतबाट बढेर समीक्षा बर्षमा ३५.३ प्रतिशत पुगेको छ ।

यस्तै, समीक्षा वर्षमा भ्रमण आय ४०.६ प्रतिशत र विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष भ्रमण आय २६.८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह १ प्रतिशतले बढेको थियो । 

अघिल्लो आर्थिक वर्षमा अमेरिकी डलर १ अर्ब ३३ करोड ८८ लाखले बचतमा रहेको चालूखाता समीक्षा वर्षमा अमेरिकी डलर ९ करोड ३५ लाखले घाटामा गएको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्ष अमेरिकी डलर १ अर्ब ७७ करोड ९८ लाखले बचतमा रहेकोमा समीक्षा वर्षमा अमेरिकी डलर ७७ करोड ७१ लाखले बचतमा रहेको बताइएको छ । 

समीक्षा वर्षमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भई रु. ६९५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २६.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशतले वृद्धि भई रु. ८५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ मा गत वर्षको तुलनामा ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

सरकारी खर्चमा अचाक्ली वृद्धि
आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ३६.५ प्रतिशतले वृद्धि भई रु. ७९३ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्ष कुल सरकारी खर्च १४.२ प्रतिशतले वृद्धि भई रु. ५८१ अर्ब ७० करोड पुगेको थियो। 

आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित चालू खर्च ३७.६ प्रतिशतले वृद्धि भई रु. ५०१ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष चालूखर्च ८.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा चालूखर्च बजेट अनुमानको ८१.३ प्रतिशत भएको छ । 

केन्द्रीय बैंकका अनुसार समीक्षा वर्षमा नगद प्रवाहमा आधारित पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा ६३.८ प्रतिशतले वृद्धि भई रु. १८९ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्ष पूँजीगत खर्च ४२.८ प्रतिशतले वृद्धि भएको थियो । पूँजीगत खर्च बजेट अनुमान रु. ३११ अर्ब ९५ करोडको ६०.७ प्रतिशत भएको छ । 

आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित वित्तीय व्यवस्था अन्तर्गतको खर्च १.३ प्रतिशतले वृद्धि भई रु. १०२ अर्ब ८४ करोड पुगेको छ । उक्त रकम बजेट अनुमानको ८५.८ प्रतिशत हुन आउँछ ।

बजेट घाटा
आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित बजेट घाटा रु. १२५ अर्ब ६१ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा यस्तो बजेट रु. ४९ अर्ब ८३ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७४ मा कुल गार्हस्थ्य उत्पादनसँग बजेट घाटाको अनुपात ४.८ प्रतिशत रहेकोछ ।