काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले टाइपमा गडबडी भएको भन्दै यसअघि नेप्सेलाई दिएको सूचना सच्याएको छ । 

यसअघि नेप्सेमा प्रकाशित सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको उल्लेख थियो । तर, नेप्सेमै प्रकाशित अर्को सूचनामा भने बोनस सेयर र नगद लाभांशको यसअघिको संरचना ठीक उल्टाइएको छ । अर्थात, यो बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरिएको बताएको छ ।  

बैंकको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सेयर र नगद लाभांश वितरणको घोषणा गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्षको तुलनामा भने यो बैंकको लाभांश घटेको छ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट गत वर्ष यो बैंकले २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यो बैंकले सेयर भन्दा नगद लाभांशमै बढी जोड दिएको देखिएको छ ।  

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले ३ अर्ब १६ करोड नाफा कमाएको छ ।