काठमाण्डौ । ‘जो अगुवा, उही बाटो.....’ भन्ने उखान मेगा बैंकको व्यवस्थापनले चरितार्थ गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाह नै प्रमुख कार्यकारी अधिकृत(सीइओ) रहेको बैंकले ७ महिनादेखि लगानीकर्ताको लगानीलाई बन्धक बनाउँदा समेत नियामक तै चूप मै चूप छन् । 

यो बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको ७ महिना भइसक्दा समेत यसले निश्कर्ष पाएको छैन । मर्जरकै नाममा लगानीकर्ताहरुको लगानी जाममा फसेको छ भने बैंक व्यवस्थापनले यो वा त्यो बाहानामा मर्जर प्रक्रिया लम्ब्याउने र अन्यौल बढाउने भूमिका निर्वाह गरिरहँदा लगानीकर्ता आक्रोशित बन्न पुुगेका छन् । 

मेगा बैंकले टुरिजम बैंकसँग २०७३ माघ ६ गते १०० बराबर ९५ को सेयर स्वाप अनुपातमा मर्जरको सम्झौता गरेको थियो । सो क्रममा मेगाभन्दा धेरै ढिलो गरी मर्जरको सम्झौता गर्ने बैंकहरुले निकै चाँडो सबै प्रक्रिया पूरा गरी लामो समयसम्म सेयर कारोबार बन्धक बन्न नदिए पनि मेगा बैंकले भने दादागिरीको शैलीमा लगानीकर्ताहरुको लगानी बन्धक बनाएर राखेको हो । 

हकप्रदका कारण मर्जर प्रक्रिया ढिलो भएको कुतर्क गर्दै सीइओ शाहले लगानीकर्ताको पीडालाई हलुका र सामान्य ढंगले लिने गरेका छन् । जब कि हकप्रदका कारण मर्जर रोकिने भन्ने अवस्था हुन्न । यसैको परिणाम स्वरुप माघ पहिलो सातादेखि नै लगानीकर्ताहरुको लाखौं रुपैयाँ बन्धक बनेर बसेको छ । यो बैंकको सेयर माघ ७ गतेदेखि कारोबार भएको छैन । यति लामो समयसम्म सेयर कारोबार बन्द हुँदा समेत लगानीकर्ताको हितमा दुहाई दिएर नथाक्ने न नियामक बोलेको छ न त लगानीकर्ताहरुको आवाज बुलन्द गर्छौ भन्ने संघसंस्थाका अधिकारी नै । 

मेगा बैंकले टुरिजमसँगको मर्जर प्रक्रिया कहिले टुंगिने हो अझै पनि स्पष्ट गरेको छैन । सीइओ शाहले लगानीकर्ताको लगानी बन्धक भएको बिषयलाई हलुुका रुपमा लिंदै हकप्रदको प्रक्रिया पूरा भएपछि मात्र मर्जरले पनि गति पाउने दाबी गर्दै आएका छन् । 

मेगा बैंकले भदौ २७ गतेदेखि १० बराबर ६.५ को अनुपातमा हकप्रद निश्कासन गर्दैछ । हकप्रदका लागि असोज ३० गतेसम्म तोकिएका स्थानमा आवेदन दिनुपर्ने भन्दै बैंकले सूचना प्रकाशित गरेको छ । सोझो ढंगले अर्थ लगाउँदा समेत आगामी असोज ३० गतेसम्म पनि टुरिजमसँगको मर्जर अगाडि बढ्नेछैन । यसको अर्थ हो, लगानीकर्ताको लगानी अझै बन्धकमै राखिनेछ । हकप्रदको बाँडफाँड, अनि मर्जरका बाँकी प्रक्रिया पूरा गर्न समेत समय लाग्नेछ । यो बीचमा दशैं, तिहार र छैठजस्ता ठूला पर्व पनि पर्नेछन् र यी पर्वको विदाको बाहाना समेत जोडिएर लगानीकर्ताले थप कुर्नुपर्नेछ ।

यो हिसाबले कात्तिकभित्र पनि मेगा बैंकको सेयर कारोबार खुल्ने अवस्था छैन । यसरी मेगा बैंककै दाबीलाई पत्याइदिने हो भने पनि टुरिजमसँगको मर्जर प्रक्रिया पुसभित्र मात्र सकिनेछ । यो हिसाबले १० महिनासम्म लगानीकर्ताको लगानी बन्धकीमा पर्नेछ । 

लगानीकर्ताले केही रिटर्नको आशा गरेर लगानी गरेका हुन्छन् । उदीयमान बैंकको छवि बनाउँदै गरेको मेगा बैंकमा कतिपयले ऋण लिएर समेत लगानी गरेका छन् । यस्ता लगानीकर्ता बैंक अनिर्णयको बन्दी बन्दा बढी पीडामा परेका छन् । एकातिर बैंकको सेयर कारोबार हुने अवस्था छैन भने उनीहरुले बन्धकमा परेको लगानीको ब्याज भने तिरिरहनु परेको छ । 

मर्जरमा जाने निर्णय गरी बजारमा कारोबार रोकिएकै मौकामा मेगा बैंकले ६५ प्रतिशत हकप्रदको भारी बोकाउने निर्णय गरेको छ, जुन लगानीकर्ताको लगानी स्वतन्त्रताको विरुद्धमा रहेको एक विश्लेषक बताउँछन् । ‘कारोबार खुल्ला हुँदा कतिपय लगानीकर्ताले मेगाको सेयर बिक्री गरेर अरुमा लगानी गर्ने, यो बैंकमा पैसा नथप्ने विकल्प पाउथ्यो ।’ ती लगानीकर्ताले भने–‘तर, मेगा बैंकले यो विकल्प समेत नदिई नाजायज ढंगले ६५ प्रतिशत हकप्रद कोच्याउन खोजेको देखिएको छ ।’ उनका अनुसार हकप्रद, बोनस सेयर लगायतले मूल्य समायोजन हुने हुँदा १० महिनासम्म लगानीकर्ताले कुर्नै परे पनि त्यसको अर्थ हुने देखिन्न । ‘सीइओ शाहको नौटंकीले लगानीकर्ताको जुलुम डूबिसक्दा समेत कोही बोल्दैन ।’ अर्का एक विश्लेषकले भने–‘अरुले समयमा मर्जर नसक्दा ६ महिनाभित्र सक्नुुपर्छ भन्ने नियामकहरु मेगालाई मनपरी गर्ने छुट किन दिइरहेका छन्?’

मर्जर भाँडियो भने !
अहिले बजारमा उठ्ने गरेको एउटै प्रश्न छ–मर्जरको नाममा लामो समयसम्म लगानीकर्ताको लगानी बन्धक बनाएर उनीहरुलाई धरधरी रुवाउने काम भएको छ । यो बीचमा हकप्रदको बाटो रोजेर मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले आफैंले तोकिएको पूँजी पुर्याउने अवस्था बनिसकेको छ । यस्तो अवस्थामा लामो समयसम्म नभएको मर्जर भाँडियो भने ? मेगा बैंकमा सेयर रहेका एक अगुवा लगानीकर्ता भन्छन्–‘मर्जर लम्बिँदा र भाँडिदा नै डूूब्ने बैंक होइन, सीइओ शाह होइन, लगानीकर्ता हो । हाम्रो पैसामा मेगाले दादागिरी देखायो, हाम्रो लगानी बन्धक बनाइयो, सेयर बेच्ने मौका नदिई हकप्रद कोच्याउन खोजिएको छ । यति धेरै अन्याय हुँदा समेत हामी लगानीकर्ताको पक्षमा किन कोही बोल्दैन ?’

केही साताअघि बैंकको वार्षिकोत्सव मनाउने क्रममा मेगा बैंकका सीइओ अनिलकेशरी शाहले बैंकलाई ‘फाइभ स्टार बैंक’ बनाउने घोषणा गरेका थिए । तर, उनको कार्यशैली, सर्वसाधारण लगानीकर्ता मारा यो गलत नीतिले भने बैंक अरुको लगानीमाथि कसरी अनुदार बनिरहेको छ भन्ने देख्न सकिन्छ । ‘अरुको पैसालाई यति लामो समयसम्म बन्धक बनाउनु यो बैंक नेतृत्वको गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’ सेयर बजारका एक विज्ञले भने–‘लगानीकर्ताले यो बैंकको गलत रबैयाविरुद्ध कानूनी उपचार खोज्नुुपर्छ । आफूलाई मसिहा बैंकर ठान्नेले लगानीकर्तालाई पेलिरहने, अनि लगानीकर्ता चाहि डूूबिरहने भन्ने कुरा अब हुँदैन ।’ 

लगानीकर्ता भन्छन्–‘यो त अति भो, जरबजस्ती गरियो’
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले मेगा बैंकले सयौं सेयरधनीको सम्पत्ति बन्धक बनाएको उल्लेख गर्दै भने–‘जनताको हित चाहने बैंकले यस्तो गलत काम गर्नुहुँदैन थियो । मर्जरको प्रक्रिया यति लामो हुुँदैन, अनेक बाहानामा बैंकले लगानीकर्ता रुवाइरहेको छ ।’ उनले यो बिषयमा धितोपत्र बोर्ड पनि बोल्नुुपर्ने माग गरे । ‘बोर्डले बैंकलाई यो बिषयमा तुरुन्त निर्देशन दिएर लगानीकर्ताको हित संरक्षण गर्नुपर्छ ।’ उनले भने–‘हालसम्म बोर्डले यो बिषयमा धारणा सार्वजनिक गरेको छैन र धेरै लगानीकर्ताले गुनासो गर्दा समेत चासो दिएको छैन ।’ उनले मेगा बैंकले सेयरमा भएको लगानी जाम गराई जबरजस्ती हकप्रद भराउन खोजेको उल्लेख गर्दै भने–‘आफ्नो सम्पत्ति पनि भनेको बेला बिक्री गर्न नपाउने अवस्था सिर्जना गरिनु संविधानविपरीत छ ।’ 

नेपाल इन्भेष्टर्स फोरमका महासचिव बच्चुराम रिमालले मेगा बैंकले लगानीकर्तालाई रुवाइरहेको बिषयमा आफूहरुले पटक–पटक नेपाल राष्ट्रबंैक र अन्य निकायमा जानकारी गराउँदा समेत कुनै कारबाही नभएको गुनासो गरे । ‘हामीले मेगा बैंक व्यवस्थापनलाई समेत पटक–पटक भेटेर यो बिषयमा ध्यानाकर्षण गराएका छौ ।’ उनले भने–‘तर सबैले अनेक बाहानाबाजी मात्र गरे, लगानीकर्ताको हित कसैले हेरेन ।’ उनले अत्यधिक हकप्रद निश्कासन गरेर मेगाले लगानीकर्ताहरुलाई ‘खाए खा, नखाए घिच’को व्यवहार प्रदर्शन गरेको बताए । ‘लगानीकर्ताले बिक्री गर्छु भन्दा पनि पाएन, यो त हदैसम्मको जबरजस्ती भयो ।’ उनले थपे–‘मेगाले सयौं लगानीकर्ता रुवाउँदा धितोपत्र बोर्ड र अन्य निकाय रमिते मात्र बने ।’ उनले कसैले उजुरी हाल्दा मात्र काम गरेजस्तो देखाउने बोर्ड लगानीकर्ताको पक्षमा हो भने मेगा बैंकको बिषयमा गम्भीर बन्नुपर्ने सुुझाव दिए । 

के भन्छ राष्ट्रबैंक ?
नेपाल राष्टबैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले धेरै बैंक तथा बित्तीय संस्थाको मर्जर ढिलोमा ६ महिनाभित्र सकिएको उदाहरण दिंदै मेगाले धेरै नै समय लगाएको टिप्पणी गरे । ‘हामीले सबैलाई दिने समय ६ महिना हो ।’ उनले भने–‘तर विशेष कारण देखाई त्यसमा केही समय थप्ने अधिकार छ, मेगा बैंकले यसैको दुरुपयोग गरी अनेक कारण देखाउँदै समय थप्दै लगिरहेको छ ।’ उनले पनि मेगाले लगानीकर्ताको हित नहेरेको टिप्पणी गरे । सयौं लगानीकर्तालाई पीडामा पारेर तथा अनेक बाहाना देखाई समय थपिरहेको यो बैंकको टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सफल नभए ठूलै कारबाही भोग्नुपर्ने उनको चेतावनी छ ।  

के भन्छ मेगा बैंक ?
मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो बिषय बैंक व्यवस्थापनसँग धेरै सम्बन्धित नभएको दाबी गर्दै प्रारम्भमा संचालक समितिका अध्यक्ष  भोजबहादुर शाहलाई सोध्न आग्रह गरे । तर, उनले ६५ प्रतिशत हकप्रदका कारण मर्जर ढिला हुन गएको पुरानै दाबी अगाडि सारे । ‘मर्जरको काम ६५ प्रतिशत हकप्रदलगत्तै सम्पन्न हुनेछ ।’ उनले थपे–‘त्यसपछि मेगा बैंकको सेयरधनीले हकप्रदको एक्सक्लूूसिभ लाभ प्राप्त गर्नेछन् ।’  मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले भने यो बिषयमा सीइओलाई नै सोध्न आग्रह गरे । ‘संचालकहरुसँग जोडिएको बिषय देखिए पनि काम गर्ने, व्यवस्थापन मिलाउने र हामीलाई सल्लाह दिने कर्मचारी साथीहरु नै हुन् ।’–उनले भने । उनले लगानीकर्ताको लगानी अब धेरै दिन जाम भएर नरहने आश्वासन दिए ।