काठमाण्डौ । काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ ।

कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको छ ।

संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद्लाई पनि पूर्वपदाधिकारीमा समेटेर उनीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने प्रावधान विधेयकमा गरिएको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।