काठमाण्डौ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्वभर अर्थात् विश्व मुटु महासंघका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइँदैछ । 

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर २ करोड नाघिसकेको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । 

अर्कोतर्फ, मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ । हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोग जस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । 

त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ । 

विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् । 

त्यसकै सिलसिलामा नेपाल हार्ट नेट (मुटुजन्य रोग रोकथाम र उपचार गर्ने/गराउने १९ संघ संस्थाहरूको छाता संगठन) लगायत बिरामी चिकित्सकसहित नर्भिक इन्टरनेशनल हस्पिटलको संयोजकत्वमा शनिवार काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरियो । 
उक्त प्रभातफेरिमा नर्भिक हस्पिटलका मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत अन्य हस्पिटलका मुटुरोग विशेषज्ञहरू, संघ संस्थाका पदाधिकारीहरू गरी करिब ४०० जना सहभागी थिए । 

हार्ट नेटका सदस्य संगठनहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल हार्ट फाउण्डेशन, वीर हस्पिटल, कार्डियाक सोसाइटी अफ नेपाल, नेपाल डाइबेटिक सोसाइटी, फ्रेण्डस् अफ ओपन हार्ट, हार्ट क्लब नेपाल, मेडिकेयर हस्पिटल, नेपाल हार्ट क्लिनिक, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, एम्लोड क्लब आदिका सदस्य तथा पदाधिकारीहरू उक्त प्रभातफेरिमा सहभागी थिए । प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई पुल्चोक, मङ्गलबजार, कृष्ण मन्दिर भएर पाटन ढोका हुँदै पुनः नर्भिक पुगेर टुङ्गिएको थियो ।