काठमाण्डौ । चीनले उत्तर कोरियामा भइरहेको तेल आपूर्ति कटौति गरेको छ । यस्तै, उत्तर कोरियाबाट हुने कपडाको खरिदारी(आयात)माथि समेत प्रतिबन्ध लगाउन सुरु गरेको छ । रुस र चीनको समर्थन पाएको मानिने उत्तरकोरियामाथि चीनकै यस्तो नाकाबन्दी र प्रतिबन्धले अमेरिका र उत्तरकोरियाबीचको द्वन्द्वलाई नयाँ ढंगले विश्लेषण गर्न थालिएको छ । 

दुुई महाशक्ति राष्ट्र जापान र चीनको बीचमा रहेको उत्तरकोरियामाथि चिनियाँ प्रतिबन्धले ऊमाथि यसअघि हुने गरेको चिनियाँ छायाँ हट्दै गएको आशंका गर्न थालिएको छ । 

एक जानकारी सार्वजनिक गर्दै चिनिया वाणिज्य मन्त्रालयले शनिवार तेलको आपूर्ति कटौतिसँगै कपडा आयातमा समेत प्रतिबन्ध लगाउन थालिएको प्रष्ट्याएको हो । वाणिज्य मन्त्रालयका अनुसार प्राकृतिक ग्यासको सप्लाईमा तत्काल प्रतिबन्ध लगाइसकिएको छ भने आगामी अक्टोबर १ देखि रिफाइन्ड पेट्रोलियम उत्पादनमा समेत प्रतिबन्ध लगाइनेछ । 

चीन उत्तरकोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, चीनसँग उसको ८० प्रतिशत व्यापार हुने गरेको छ । यो प्रतिबन्धका कारण उत्तरकोरियाले निकै ठूलो आर्थिक समस्या भोग्नुपर्ने बीबीसीले विश्लेषण गरेको छ । 

उत्तरकोरियाद्वारा परमाणुु कार्यक्रममा लगातार बिस्तार गर्न थालिएपछि संयुक्त राष्ट्र सुरक्षा परिषदले ऊमाथि केही नयाँ प्रतिबन्ध लगाएको थियो । जसमा उसलाई हुँदै आएको तेलको सप्लाई तथा कपडाको खरीदमाथि प्रतिबन्ध पनि थियो । 

संयुक्त राष्ट्रसंघका अनुसार उत्तरकोरियालाई एउटा सामान्य सीमाभित्र रहेर भने तेलको आपूर्ति जारी राखिनेछ । 

तर, चीन र उत्तरकोरियाबीच सामान्य अवस्थामा कति तेलको सप्लाई हुन्थ्यो र प्रतिबन्धपछि घटेर कतिमा सीमित छ भन्ने बिषय चाहि स्पष्ट पारिएको छैन । 

कपडाको निर्यात रोकिएपछि उत्तरकोरियाले एकवर्षमा ७० करोड डलर नोक्सानी व्यहोर्नुपर्ने मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

अमेरिकाले भने उत्तरकोरियामा हुने तेलको सबै आपूर्तिमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएको थियो । सुरुवातमा चीन तथा रुस यसका लागि तयार थिएनन्, तर केही परिवर्तनपछि दुवै देश तेलको सप्लाई कटौतिमा राजी भए । 

एएफपी समाचारका अनुसार पछिल्लो २ महिनाको अवधिमा उत्तरकोरियाको राजधानीमा पेट्रोलियम मूल्यमा २० प्रतिशतसम्मको वृद्धि भइसकेको छ । पेट्रोल पम्पमा काम गर्ने एक कर्मचारीका अनुसार शुक्रबार त्यहाँ तेलको मूल्य १९७ रुपैयाँ थियो, जो शनिवार बढेर २०७ रुपैयाँ भएको छ । 

उत्तरकोरिया कोइलाको समेत उत्पादन गर्छ । सन् २०१६ मा उत्तरकोरियाले १६० करोड भन्दा बढीको कोइला चीन निर्यात गरेको थियो । तथापि, चीनले अघिल्लो वर्ष नै उत्तरकोरियाबाट हुने कोइलाको आयातमा कटौति गरिसकेको छ ।