काठमाण्डौ ।  पृथक अवधारणासहितको विशेष पर्यटकीय उत्पादनमार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पुर्याएबापत चन्द्रागिरि हिल्स लिमिटेडलाई सोमबार एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको छ।

३८औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरेको विशेष कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडलाई सो सम्मान प्रदान गरेको हो । 

सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको जानकारी गराए । उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उद्योगमा भएको निजी  लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे । 

चन्द्रागिरि हिल्सले नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तीमा एक दिन लम्ब्याउने उद्देश्यमा अगाडि बढेको जानकारी दिए । यस्तै खालका पर्यटकीय पूर्वाधार सहितका एकीकृत पर्यटकीय गन्तव्य प्रादेशिक रुपमा निर्माण गर्न सकिएमा त्यसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।