काठमाण्डौ । विगत कुनै समय एकअर्काको आलोचना र सत्तोसराप कुनै कसर बाँकी नराख्ने एमाले र माओवादीबीच पार्टी एकताको प्रयास सुरु भएको छ । प्रदेश र संसदको चुनावको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटीले बाम तालमेल गरेर जाने निर्णय गरेको भोलिपल्ट पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकले एमालेसँग एकताको प्रयास थाल्ने निर्णय गरेर नेपाली राजनीतिमा भूकम्प सिर्जना गरिदिएको हो । 

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सन्निकट प्रदेश र संसदीय चुनावमा बाम शक्तिबीच तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट माओवादीले बाम शक्तिबीच(विशेष गरी एमालेसँग) चुनावी तालमेल गर्ने र यही क्रममा पार्टी एकताको प्रयास पनि थाल्ने निर्णय गरेको माओवादी पार्टी प्रवक्ता पम्फा भूसालले जानकारी दिएकी छिन् । 

माओवादी बैठकले पार्टी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा(बादल)लाई एमालेसँग पार्टी एकताका लागि प्रयास थाल्न समेत जिम्मेवारी दिएको भूसालले खुलासा गरेकी छिन् । यी तीन नेताले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनसक्ने तालमेलको बिषयमा समेत आवश्यक वार्ता र प्रयासको थालनी गर्नेछन् । 

एमाले निकट स्रोतका अनुसार सन्निकट दुुई निर्वाचनमा एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट दिने गरी चुनावी तालमेलको गोप्य सहमति भइसकेको छ । तर सो क्रममा दुुई पार्टीबीच एकताका लागि एमालेले समेत प्रयास थाल्नेछ । यसका लागि एमाले स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई जिम्मेवारी दिएको स्रोतको दाबी छ । ती नेताका अनुसार अब हुने दुुई निर्वाचनमा दुवै पार्टीले सूूर्य चुनाव चिन्हका साथ निर्वाचन लड्ने गोप्य सहमति भइसकेको छ । ७ बुँदे सहमति मंगलबार साँझसम्म औपचारिक रुपमा सार्वजनिक हुनसक्छ । ती नेताले भने  । उनका अनुसार दुुई ठूला बामशक्तिबीच पार्टी एकतासम्मको प्रयासको थालनी भई चुनावी तालमेलको निर्णय नै भइसके पनि दुवै चुनावअघि देउवा नेतृत्वको सरकार भने कायमै रहनेछ । 

हृदयेश त्रिपाठी लगायतद्वारा राजपाबाट विद्रोह
स्थानीय तहको तेश्रो चरणअन्तर्गत प्रदेश २ (तराई मधेश)मा भएको निर्वाचनमा पाँचौ शक्तिमा सीमित बन्न पुुगेको एमालेले आगामी निर्वाचनमा सो क्षेत्रबाट आफूलाई थप सशक्त र बलियो बनाउने देखिएको छ । एमालेको तराईमधेशमा बलियो बन्ने लक्ष्यलाई साथ दिंदै राजपाका एक शक्तिशाली नेतासहितका पाँच मधेशी नेताले आगामी दुुई निर्वाचनमा एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् । प्रभावशाली राजपा नेता हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले राजपा त्याग्दै एमालेमा प्रवेशको गोप्य सहमति गरेका हुन् । तर, उनीहरुले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने एमाले चुनाव चिन्हमा लड्नेछन्, एमालेमै प्रवेश गरेको औपचारिक घोषणा भने हुने छैन । मधेशविरोधी छवि बनाएको एमालेमै प्रवेश गरेको भनी चुनाव लड्ने भन्दा राजपाबाट विद्रोह गरी एमालेको चुनाव चिन्हमा चाहि निर्वाचनमा जाँदा यसले फाइदा गर्ने र चुनाव जितिने उनीहरुको बुुझाई हुनसक्ने देखिएको छ । तर चुनाव जितिसकेपछि भने उनीहरु एमालेकै सांसद हुनेछन् ।