काठमाण्डौ । दशैंविदापछि खुलेको बजार हराभरा हुँदा लगानीकर्तामा उत्साहको संचार भएको छ । धेरै लगानीकर्ता काठमाण्डौ नफर्किसकेको र कतिपयको दशैं नसकिएको अवस्थामा समेत थोरै लगानीकर्ताको सहभागितामा भएको कारोबारमा बजार हराभरा भएपछि बजार बढ्ने आशालाई थप बलियो बनाइदिएको छ । सामान्य अवस्थामा समेत आगामी दिनमा बजार अझ माथि जाने आँकलनलाई मंगलबारको बजारको वृद्धिले दरिलो साथ दिएको विश्लेषकहरुले बताएका छन् । 

केही विश्लेषकहरुले सबै अवस्था बजार वृद्धिका लागि सकारात्मक रहेका दाबी गर्दै बजार अब उकालो लाग्ने दाबी गरेका छन् । त्यसैको प्रारम्भिक संकेतको रुपमा मंगलबारको बजार वृद्धिलाई लिनसकिने उनीहरुको तर्क छ ।  

यो दिन बजार परिसूचक ६.८९ अंकले बढेर १५५६.३५ अंकको उचाईमा पुुगेको छ । यो दिन सबै समूहको सूचक हराभरा भएका छन् । बैकिङ समूह ५.६६, होटल २८.५९, विकास बैंक समूह ०.६५ अंक, जलविद्युत समूह ६३.८४, बित्त समूह २.८८, बिमा समूह ९.२२, टेडिंग समूह ३.८ र अन्य समूह १.४४ अंकले बढेका छन् । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७२ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय २० कम्पनीका २ लाख ६९ लाख ७ सय ७६ कित्ता सेयर १४ करोड बढीमा किनबेच भयो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले मात्रै ४ करोड ८८ लाख बढीको कारोबार गर्यो । मंगलबार इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले समेत यो बैंकको सेयर खरीदमा लगानीकर्ताको मरिहत्ते देखिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको ८६ लाख बढीको संस्थापक सेयर समेत किनबे भएको बजारमा नागरिक लगानीकोषले ८१ लाख बढी, चिलिमे हाइडोले ७३ लाख, प्राइम कमर्सियल बैंकले ४० लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र बाँकी २ स्थान अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी चिलिमे हाइडोपावर कम्पनीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले वृद्धि भयो । ओरिएन्टल होटलको मूल्यमा समेत ५ प्रतिशत बढीको वृद्धि देखियो । 

यो दिन एनआइबिएल समृद्धि फण्ड १(म्युचुुअल फण्ड)को इकाई मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो स्किमको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । हाम्रो विकास बैंकको मूल्यमा समेत २ प्रतिशतले गिरावट आयो ।