विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनसम्बन्धी आफ्नो सिद्धान्तबारे लेखेका दुईवटा लेखोट १५ करोड ६० लाख डलरमा विक्री भएका छन्।

जेरुसलेममा लिलामी बढाबढमा ती लेखोटहरु विक्री भएका हुन्।

नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले जर्मन भाषामा लेखिएका लेखोटहरु सन् १९२२ मा जापानी पत्रवाहकलाई दिएका थिए।

पत्र पुर्‍याउन आफ्नो घर आइपुगेका पत्रवाहकलाई 'टिप' दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले लेखोटहरु दिएको बताइन्छ।

त्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिए।

ती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोटहरु दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताएका छन्।

आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोटहरु मूल्यवान हुने बताएका थिए।

आइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिए।

तर उनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ- "सफलताको खोजीमा निरन्तर बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ।"

त्यही बेला लेखिएको दोस्रो लेखोटमा भनिएको छ, "जहाँ ईच्छा हुन्छ, त्यहाँ उपाय हुन्छ।"

दोस्रो लेखोट चाहिँ २४ लाख डलरमा विक्री भएको छ।

दुवै लेखोटले पूर्वानुमान गरिएको भन्दा धेरै बढी मूल्य पाएको लिलाम बढाबढमा राख्नेले बताएका छन्।

दुईटामध्ये एउटा लेखोटका एकजना युरोपेली खरिदकर्ताले आफ्नो नाम सार्वजनिक नगरिदिन लिलाम बढाबढमा राख्नेलाई आग्रह गरेको बताइएको छ।

लिलाम बढाबढमा राख्ने पत्रवाहकका भतिज भएको बताइएको छ।

आइन्स्टाइनका केही प्रसिद्ध भनाईरुः

  • हामीले समस्या सिर्जना गर्ने बेलाकै जस्तो सोचले आफ्ना समस्या हल गर्न सक्दैनौँ।
  • बुद्धिमान हुनुको सही संकेत ज्ञान नभई कल्पना हो।
  • प्रकृतिले हामीलाई दिएको एक प्रतिशतको हजार अंशमध्ये एक अंश पनि हामीलाई थाहा छैन।
  • जब तपाईँ एक असल महिलासँग समय बिताउनुहुन्छ एक घण्टा एक सेकेण्ड जस्तै लाग्छ। जब तपाईँ बलिरहेको कोइलामाथि बस्नुहुन्छ एक सेकेण्ड एक घण्टा जस्तो लाग्छ। यो सापेक्षता हो।

स्रोतः एल बूक अफ कोटेशन्स/ब्रेनी कोट/BBC