काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक ९ गते बसेको १८१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हालै मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निश्कासन गरेको थियो । हकप्रद भरेका सेयरधनीहरु समेत घोषित बोनस सेयरका लागि योग्य मानिनेछन् । 

संचालक समितिको यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४९ करोड ६३ लाख खूद नाफा आर्जन गरेको थियो । ४० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब १५ करोड रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी २ अर्ब ५८ करोडको उचाईमा पुुग्नेछ ।