काठमाण्डौ । निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा त्यसले पार्टीको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्तिमन्त्री र मुख्य सचिवलाई झपारेका छन् । 

प्रधानमन्त्रीले झपारेर पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता लिन ठाडो निर्देशन दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मी र आपूर्ति मन्त्री जयन्त चन्दको निर्देशनमा बिहीबार बिहान आकस्मिक रुपमा बसेको आयल निगम संचालक समितिको बैठकले बुधबारको मूल्यवृद्धिको निर्णय फिर्ता लिएको छ। 

बुधबार आयल निगमले इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूचि बढाएर पठाएको र निगमलाई घाटाबाट बचाउन भन्दै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको थियो । बुधबार मध्यरातिदेखि लागूू भइसकेको मूल्यसूचि प्रधानमन्त्रीको ठाडो निर्देशनपछि पुनः खारेज भएको छ । अब उपभोक्ताले पुरानै मूल्य अनुसार पेट्रोलियम पदार्थ पाउने आयल निगमले जनाएको छ । 

प्रधानमन्त्रीले चुनावलाई मात्र हेरेर मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेपछि बाध्य भई फिर्ताको निर्णय गरिए पनि यसले आयल निगमलाई घाटामा लग्ने निगमका एक अधिकारीले बताए । उनका अनुसार यो मूल्यवृद्धि फिर्ता लिई पुरानै मूल्यमा पेटोलियम पदार्थ बिक्री गर्दा आयल निगमलाई आगामी महिनासम्म २२ करोड रुपैयाँ घाटा लाग्नेछ । 

आयल निगमले पेट्रोलियम मूल्यवृद्धि गरेलगत्तै प्रधानमन्त्रीका केही सल्लाहकारहरुले यो निर्णयले मतदातामा गलत सन्देश जाने र यसले पार्टीको निर्वाचन अभियान प्रभावित हुनसक्ने भन्दै तत्काल कडा कदम चाल्न देउवालाई निर्देशन दिएका थिए । सोही अनुरुप देउवाले समेत रातारात निर्णय फिर्ता गर्न लगाएका हुन् ।