काठमाण्डौ । बजार थोरै भए पनि मजबुत बनेको छ । साताको अन्तिम कारोबार दिन पनि बजारलाई टर्नओभरको दरिलो साथ प्राप्त भएको छ । यो दिन बजार परिसूचक(नेप्से) ३.७ अंकको गिरावट आए पनि कारोबार रकम भने बढेको छ । बजार परिसूचकमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । यस हिसाबले झिनो अंकको बजार गिरावटमा कारोबार रकम बढ्दै जानुुलाई विश्लेषकहरुले शुुभ संकेतको रुपमा बुुझेका छन् । एक विश्लेषकको भनाईमा बजार परिसूचकको झिनो गिरावटको बीच केही दिनसम्म कारोबार रकम उकालो लाग्दै गए यसले आगामी दिनमा बजारलाई अझ बलियो बनाउने र यसले बढोत्तरीको समय सुरु हुनसक्ने अनुमान गर्छन् । 

निर्वाचन नहोला कि भन्ने संशयलाई बिहीबारको उम्मेद्वारी दर्ताले चिरिदिएपछि र निर्वाचनको सुनिश्चितता हुँदै गएपछि लगानीकर्तामा आत्मबल क्रमशः बढिरहेको देखिन्छ । तरलता निकै सहज भइसकेको अवस्थामा बैंकहरुले अपेक्षित रुपमा ब्याजदर घटाइरहेका छैनन्, धेरै लगानीकर्ता ब्याजदर घटेपछि बजार प्रवेशको दाउ हेरेर बसेका छन्, यसले समेत बजारमा बढोत्तरी हुन सकेको छैन । बजारको माग भन्दा अत्यधिक आपूर्तिको समस्याले पनि बजारलाई बढाउन सहयोग गरिरहेको छैन । 

बिहीबारको बजारमा चार समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । बिमा समूह १०.५२, जलविद्युत समूह १४.०१, बित्त समूह ०.३३ र ट्रेडिङ समूह ६.५९ अंकले बढेका छन् । यस्तै, बैकिङ समूह ३.७७ अंकले घटेको छ भने विकास बैंक समूहमा ६.७७, होटल समूहमा ०.९७, उत्पादनमूलकमा ६.०५, अन्य समूहमा ७.८१ र माइक्रोफाइनान्स समूहमा १४.२६ अंकको गिरावट आएको छ । 

साताको अन्तिम कारोबार दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२९ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ११ लाख ५ हजार ३५ कित्ता सेयर ४५ करोड ९ लाख ५० हजार ७ सय ९१ रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको भन्दा साढे २ करोडले बढी हो । 

यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोबार भयो । ३ करोड ६५ लाख बढीको संस्थापक सेयर किनबेच भएको हो । 

राष्ट्रिय बिमा कम्पनीको २ करोड ७५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सांग्रिला डेभलपमेन्ट बैंकको २ करोड २१ लाख बढीको संस्थापक सेयरको पनि खरीदबिक्री भयो ।

स्ट्याण्डर्ड चार्टर्डले १ करोड ७३ लाख बढीको कारोबार गरेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६७ लाख, कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडले १ करोड १५ लाख बढीको कारोबार गरे । यस्तै, नेपाल टेलिकमले १ करोड ८ लाख, नेपाल ग्रामीण विकास बैंकले १ करोड ३ लाख, सानिमा बैंकले ९६ लाख ९१ हजार र नवील बैंकले ९३ लाख ६४ हजार बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी भार्गव विकास बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि ४ प्रतिशतकै हाराहारीमा वृद्धि भयो । 

साताको चारवटा कारोबार दिन लगातार १० प्रतिशतको हाराहारीमा मूल्य बढेको मल्टीपर्पोज फाइनान्स कम्पनीले बिहीबार भने सबैभन्दा धेरै गुमाएको छ । यो कम्पनीको सेयर मूल्यमा ७.४३ प्रतिशतको पहिरो गयो । सहयोगी विकास बैंकका सेयरधनीले पनि ५.२२ प्रतिशतले सम्पत्ति गुमाए।