काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको चन्द्रागिरी केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरीदमा छुट लिनेदिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरी हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रबन्धक अब्दुल्हातुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चन्द्रागिरी हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रुहरुले दुवैतर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाइएको छ । छुटसम्बन्धी व्यवस्था सम्झौतापत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवैतर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको छ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३०० गन्तव्यमा नियमित उडान भर्दै आएको छ  ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।