काठमाण्डौ । बजारलाई कारोबारले साथ छाडे पनि परिसूचकको गिरावट भने केही सम्हालिएको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार ३.०४ अंकले मात्र घट्यो । परिसूचकसँगै कारोबार रकम घट्नुुलाई बजारका विश्लेषकहरुले राम्रो संकेत मान्दैनन् । तथापि, यस्तो प्रवृति केही दिनसम्म मात्र चिन्ता गर्नुपर्ने हुन्छ । 

सोमबारको बजारमा पनि बैंक तथा बित्तीय संस्थाहरुको पहिलो त्रैमासको ब्यालेन्ससिटको प्रभाव देखिएको छ । राम्रो विवरण निकाल्ने कम्पनीको सेयरको खरीदारी बढेको छ भने झूर विवरण निकाल्ने कम्पनीको सेयर बिक्रीमा चाप परेको देखिएको छ । 

सोमबार कारोबार अवधिभरि बजार परिसूचक बढेर १५ सय माथि पुुगे पनि अन्तिम समयमा पुनः घटी १४९३.४२ अंकमा सीमित बन्न पुुगेको हो । कारोबारको सुरुवातमा भने बजार घटेर १४८० मा आइपुुगे पनि सम्हालिएर फेरि उक्लिन थालेको थियो ।

यो दिन ५ समूहको परिसूचक बढेको छ भने ५ समूहको सूचकमा गिरावट देखिएको छ । होटल समूह ६.०७, जलविद्युत समूह २.३४, बित्त समूह ९.६३, उत्पादनमूलक ८.६६ र अन्य समूह ०.८७ अंकले बढेका छन् । बैकिङ समूह २.१४, बिमा समूह ५१.९३, विकास बैंक समूह ११.८९, माइक्रोफाइनान्स समूह ११.२२ र ट्रेडिङ समूह २.२८ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२४ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १ सय ६० कम्पनीका ११ लाख ५७ हजार ४ सय ६६ कित्ता ४९ करोड ११ लाख ८० हजार ४ सय ३८ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नागरिक लगानीकोषले ३ करोड २५ लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड, नेपाल टेलिकमले १ करोेड ८९ लाख, सिभिल बैंकले १ करोड ८८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख, कुमारी बैंकले १ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३५ लाख, कृषि विकास बैंकले १ करोड २६ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र २ स्थान अन्य कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी महुली सामुदायिक लघुवित्त संस्थाका सेयरधनीले कमाए । यो कम्पनीको मूल्य ८.१५ प्रतिशतले वृद्धि भयो । 

यस्तै, सोमबार सबैभन्दा धेरै सिभिल लघुवित्त बित्तीय संस्थाले गुमायो । यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको गिरावट आयो । कर्णाली विकास बैंकको सेयरधनीले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।