काठमाण्डौ । बाम गठबन्धन र विवेकशील साझा पार्टीको कडा टक्कर व्यहोरिरहेका कांग्रेसका युवा नेता प्रकाशमान सिंह नेपाली कांग्रेस वीपीको उम्मेद्वारले पनि टक्कर दिन थालेपछि अत्तालिएका छन् । 

हरिवोल भट्टराईको नेतृत्वमा गठन भएको कांग्रेस वीपीले पार्टीभित्रको असन्तुुष्ट मत बिस्तारै आफूतिर आकर्षित गर्न थालेपछि आफ्नै पार्टीका कार्यकर्ताले चिप्ल्याउने डरका कारण उनी अत्तालिएका देखिएको छ । 

सुशीलमान शेरचन, पुुष्पराज पराजुली लगायतको प्रयासमा गठन भएको कांग्रेस वीपीको तर्फबाट पार्टी अध्यक्ष हरिवोल भट्टराई नै काठमाण्डौ निर्वाचन क्षेत्रनम्बर १ मा उम्मेद्वार बनेका छन् । नयाँ कांग्रेस पार्टीको अध्यक्ष नै आफ्नो क्षेत्रमा उम्मेद्वार भएपछि असन्तुुष्ट कांग्रेस कार्यकर्ताले राम्रो विकल्प पाएका कारण आफ्नो हार हुनसक्ने भन्दै प्रकाशमानले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका खुलेको छ । 

कांग्रेस वीपीलाई काठमाण्डौ निर्वाचन क्षेत्रनम्बर १ मा राप्रपा प्रजातान्त्रिक लगायत अन्य  साना दलहरुले समेत सघाउने सूूइँको पाएपछि प्रकाशमान बढी अत्तालिएका उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रकाशमानले पटक–पटक चुनाव जितेर पनि काठमाण्डौ १ नम्बर क्षेत्रको विकासका लागि माखो नमारेको बिषयले उनलाई पार्टीकै कार्यकर्ताले समेत भोट नहाल्ने अवस्था छ । यस्तो भयो भने कांग्रेस कार्यकर्ताको भोट कांग्रेस वीपीलाई जानसक्छ, जसले प्रकाशमानको जितको सपनामाथि तुुषारापात हुनसक्छ । 

यही विश्लेषणका साथ प्रकाशमानको आग्रहमा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ कांग्रेस वीपीका अध्यक्ष भट्टराई नेतृत्वको टोलीसँग वार्ता गरेका छन् । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार बालुवाटारस्थित सरकारी निवासमा कांग्रेस वीपीका पदाधिकारीलाई बोलाएर देउवाले पार्टीभित्र कांग्रेस वीपीका नेताहरुलाई उचित ठाउँ दिने आश्वासन दिंदै काठमाण्डौ १ नम्बर लगायत देशका सबै क्षेत्रमा कांग्रेस वीपीको तर्फबाट परेको उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए । कांग्रेस वीपीका नेताहरुले नटेरेपछि पार्टीभित्रका कुन नेतालाई कुन स्थान दिने भन्ने आफूले लिखित प्रतिबद्धता दिने समेत देउवाले बताएका थिए । तर, त्यति हुँदा समेत भट्टराई लगायतका नेताहरुको दाल गलेन । भट्टराईले स्पष्ट रुपमा समय घर्किसकेको उल्लेख गर्दै आफू लगायतका नेताहरुले दिएको उम्मेद्वारी फिर्ता नहुने अडान लिएका थिए । कांग्रेस वीपीका नेताहरुले अडान नछाडेपछि शुक्रबारको वार्ता फेरि बस्ने शर्तमा बिना निश्कर्ष टुंगिएको वार्तामा सहभागी एक नेताले जानकारी दिए । 

‘देउवाले हामीसँग हलुका ढंगले कुरा गर्नुभयो, सायद कम आँक्नुुभयो ।’ ती नेताले बिजशालासँग भने–‘चुनावी माहौलमा होमिएको यो अवस्थामा आएर हाम्रा नेताहरुले दिएको उम्मेद्वारी फिर्ता लिने भन्ने प्रश्नै उठ्दैन । फेरि हामी अलग्गै पार्टी हौ, कांग्रेसका बागी पनि होइनौ ।’ 

कांग्रेस वीपीले देशका विभिन्न निर्वाचन क्षेत्रमध्ये २ दर्जन बढी ठाउँमा उम्मेद्वारी दिएको छ । त्यसमध्ये दाङ र कास्कीमा उसको राम्रो प्रभाव छ । काठमाण्डौ १ मा समेत आफूहरु निकै बलियो अवस्थामा रहेको कांग्रेस वीपीका महामन्त्री सुशीलमान शेरचनले जानकारी दिए । ‘हामीले साथीहरुको अभूतपूर्व साथ र समर्थन पाएका छौ ।’ शेरचनले भने–‘कांग्रेसले वर्षौदेखि लिएको गलत नीति, नेताहरुको भ्रष्ट प्रवृति, नातावाद र कृपावादमा चुर्लुम्म डूूबी वीपीको समाजवादलाई पोलेर खानेहरुलाई अब सच्चा कांग्रेसीले भोट दिनुु हुँदैन ।’ 

शेरचनले इमानदार र अवसरबाट बञ्चित गराइएका कांग्रेसीहरुले विकल्प खोजिरहेको बेला नेपाली कांग्रेस वीपी गठन भएको उल्लेख गर्दै अब वीपीको समाजवादको सपनालाई आफ्नो पार्टीले मात्र साकार पार्ने जिकिर गरे । 

आउँदो प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस वीपीको चुनाव चिन्ह करुवा रहेको छ ।