काठमाण्डौ । चीनको इकमर्स कम्पनी अलिबाबाले यो पटक एकदिनको बिक्रीमा नयाँ विश्व रेकर्ड बनाएको छ । शनिवार यो कम्पनीले एकघण्टामै १० अर्ब डलर बराबरको सामान बिक्री गरेको छ । सुरुवातको ३ मिनेटमै १.५ अर्ब डलरको सामान बिक्री भयो, जबकि गत वर्ष यत्तिकै मूल्यको बिक्री ६ मिनेट ३ सेकेण्डमा भएको थियो । स्मरणरहोस्, ११ नोभेम्बरलाई चीनमा ‘सिंगल्स डे’को रुपमा मनाइन्छ । यसको ट्रेण्ड १९९० देखि सुरु भएको थियो, जुन अब अविवाहितको बीचमा निकै लोकप्रिय भइसकेको छ । 

अलीबाबाको एक संस्थापक तथा भाइस चेयरमेन जोसफ तसाईले भनेका छन्–‘यो इभेन्ट चीनको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण हो । सिंगल्स डे सपिङका लागि खास दिन तथा अर्को हिसाबले भन्ने हो भने मनोरञ्जनको एउटा महत्वपूर्ण दिन समेत हो । चीनको डिस्पोजेबल आम्दानी बढिरहेको छ । देशका मध्यम वर्गीय उपभोक्ताको संख्या ३० करोड बढी छ । यहीकारण समेत कम्पनीको अनलाइन खरिदबिक्रीमा उछाल आइरहेको छ ।’

अलीबाबाको दाबीअनुसार हालसम्मको सेलको हिसाबले सिंगल्स डेमा भएको यो ससेल, अमेजन प्राइम डेमा भएको खरीदबिक्रीको आकारभन्दा  १८ गुणा बढी हो । यस्तै, ब्ल्याक फ्राइडे र साइबर मण्डे जस्ता ठूला पर्वको संयुक्त सेल भन्दा अढाई गुणा बढी हो । 

चीनमा सिंगल्स डेको दिन विशेष रुपमा स्मार्टफोनको बिक्री अचानक बढ्ने गर्छ । यहीकारण समेत पछिल्लो केही वर्षदेखि यो कम्पनीले यो विशेष दिनमा कमालको व्यापार गर्दै आएको छ ।