काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित भएको छ। 

स्थापनाको छोटो समयमै चन्द्रागिरी हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोमा यसरी सम्मान प्राप्त गरेको हो । 

अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले सो सम्मान ग्रहण गरेका थिए । 

चन्द्रागिरी हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘ बेष्ट डेस्टिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।

‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सो सम्मान प्रदान गरिएको थियो । व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यवसायिक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष एवम् संचालक ढकालले ‘चन्द्रागिरी हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मासाथ गर्दै अगाडि बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफूू र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको धारणा राखे । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।