काठमाण्डौ । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा मंसिर २ गतेदेखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । 

अब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ । यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्नेछन् । अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ । 

लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्छ । सो क्षेत्रमा गत २०७३ जेठ १ गतेदेखि जिएसएम अन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो । सिडिएमए प्रविधिको सेवा भने यो भन्दा पहिले देखि नै उपलब्ध थियो । पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ । 

त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि गत शुक्रबार (मंसिर १ गते) देखि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो । म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४६ किलोमिटर टाढा रहेको सो स्थानमा पहिले सिडिएमए सेवा मात्र उपलब्ध थियो । सो टावरमार्फत अब मालिका गाउँपालिकाका वडा नम्बर २ अन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ; वडा नम्बर ३ अन्तर्गत झागाउँ, अउला र पातले तथा वडा नम्बर ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । अधिकांश प्रयोगकर्तासँग जिएसएम मोबाइल सेट हुने भएकाले पनि यो सेवाको माग उच्च थियो ।