काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा मुद्रास्फिति ३.१ प्रतिशतमा सीमित रहेको नेपाल राष्टबैंकले दाबी गरेको छ । 

सागसब्जीको मूल्यमा तीव्र उतारचढाव भए पनि समग्र मुद्रास्फिति ३.१ प्रतिशत रहेको भन्दै राष्ट्रबैंकले  आर्थिक अवस्थामा आशाका किरणहरु देखिएको बताएको छ । 

चालु आर्थिक वर्षको पहिलो २ महिनामा मुद्रास्फिति ३.४ प्रतिशत थियो । गत वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फिति ६.७ प्रतिशत रहेको थियो । 

खाद्य मुद्रास्फिति 
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९ प्रतिशत, मसलाको मूल्यमा ५.७ प्रतिशत, तरकारीको मूल्यमा ५.१ प्रतिशत र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

गैरखाद्य मुद्रास्फिति
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१ प्रतिशत, तराईमा ३.६ प्रतिशत, पहाडमा ३.० प्रतिशत र काठमाडौं उपत्यकामा २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत, पहाडमा ८.९ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
२०७४ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत र भारतको ३.६ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ६.७ प्रतिशत र ४.२ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २.५ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति
समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ७.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.१ प्रतिशतले घटेको थियो ।