काठमाण्डौ । हालसम्म बिटक्वाइनलाई सबैभन्दा धेरै रिटर्न दिने लगानी उपकरणको रुपमा लिइन्छ । तथ्याङ्कलाई हेर्ने हो भने ७ वर्षअघि बिट क्वाइनमा जसले २४ रुपैयाँ लगानी गरेको थियो, सो व्यक्ति अहिले ९ करोड रुपैैयाँको मालिक बनेको छ । यहीकारण विश्वमा बिटक्वाइनमा लगानी गर्नेहरुको संख्या अचाक्ली बढिरहेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । तर, गत एकवर्षको कुरा गर्ने हो भने केही कम्पनीको सेयर यस्ता पनि छन्, जसले रिटर्नमा बिटक्वाइनलाई समेत पछाडि पारिदिएका छन् । ब्लुमबर्गको एक रिपोर्ट अनुसार यी कम्पनीको सेयरमा लगानी गर्नेहरुले एकवर्षको अवधिमा १००० प्रतिशत रिटर्न पाएका छन् । यी सेयर एशियाका ४ कम्पनीका हुन् । 

१.पेपर फूड सर्भिस कम्पनी
यो कम्पनीको जापानको एक रेष्टुरेन्ट सञ्जाल हो । यो रेष्टुरेन्ट आफ्नो स्टीक्स फूड तथा पोर्क कटलेट्सका लागि प्रख्यात छ । यसको मार्केट भ्यालू सन् २०१७ को सुरुवातमा १० करोड डलरभन्दा कम थियो । तर, अब यसको मार्केट भ्यालूू १०० करोड डलरभन्दा माथि पुुगेको छ ।

२.चाइना इन्भेष्टमेन्ट फण्ड
चाइना इन्भेष्टमेन्ट फण्ड हङकङको ठूलो इन्भेष्टमेन्ट कम्पनी हो । यो कम्पनीको चीनमा रहेको एक सुनखानी र अटो पार्टस कम्पनीमा हिस्सेदारी छ । यो यही वर्षको नोभेम्बरमा एमएससीआई ग्लोबल स्मल क्याप इण्डेक्समा सामेल भएको हो । सबै कम्पनीमध्ये सबैभन्दा ठूलो उछाल यही कम्पनीको सेयरमा आएको थियो । एकवर्षमा यो कम्पनीको सेयर मूल्य १२३० प्रतिशतले वृद्धि भएको देखिएको छ । 

३.एचइजी लिमीटेड
एचइजी लिमीटेड भारतको कम्पनी हो । जुन कम्पनी ग्रेफाइट इलेक्ट्रोड्स बनाउन अग्रसर छ । यो वर्षको सुरुवातमा यो कम्पनीको मार्केट भ्यालूू ६०० करोड भारु थियो । तर, अब यो बढेर ७ हजार ९ करोड रुपैयाँको उचाईमा पुुगेको छ । 

४.इण्डिया बुल्स बेञ्चर्स लिमीटेड
यो पनि भारतकै कम्पनी हो । यो सेयर, कमोडिटी र करेन्सी ब्रोकिङ सेवा दिने अग्रणी संस्था हो । यो वर्ष इण्डिया बुल्स बेञ्चर्स लिमीटेडको सेयर मूल्यमा ११६२ प्रतिशतको उछाल कायम भयो । २०१७ को सुरुवातमा यो कम्पनीको मार्केट भ्यालू ९०८.१४ करोड भारु थियो, अब बढेर यसको भ्यालू १२३८६.९५ करोड भारुको उचाईमा पुुगेको छ ।