काठमाडौं । नेपालको निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरु संगठित भएका छन् । 

पूर्व अध्यक्षहरुले ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद’ गठन गरेका हुुन् । 

परिषदले आजै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भक्तपुर बालकोट स्थित निवासमा भेटेर छलफल गरेको छ । परिषदका तर्पmबाट ज्ञापनपत्र बुझाउदै उद्योगीहरुले अब बन्ने सरकारलाई समृद्धि र आर्थिक बिकासका लागि निजी क्षेत्रको सहभागितामूलक सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरे । 

परिषदले सो अवसरमा निजी क्षेत्र सधै राज्यको समाबेशी अर्थतन्त्र, समाजबाद उन्मुख उदार बजार नीति र निजीक्षेत्र केन्द्रित सहभागितामूूलक आर्थिक विकासमा सरकारसंग सहकार्यका लागि एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेको छ । 

जवाफमा एमाले अध्यक्ष ओलीले मुलुकको आर्थिक सम्बृद्धिका लागि रचनात्मक नेतृत्व निजी क्षेत्रले र नीतिगत नेतृत्व सरकारले गर्ने बताए । मुलुक संबिधान निर्माण र तीन चरणका चुनावपछि आर्थिक सम्बृद्धिको वाटोमा अघि बढेकाले बाम गठवन्धन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने अध्यक्ष ओलीको भनाई थियो । 

परिषदले बुझाएको ज्ञापनपत्रमा मुलुकको आर्थिक सामाजिक बिकासको नयाँ युग प्रारम्भ बिन्दुका रुपमा सफलतापूूर्बक सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन गर्न दलहरुले देखाएको इमानदारिता र समर्पणको प्रशंसा समेत गरिएको छ । लामो समयदेखि अपेक्षा गरिएको ‘समृद्धि र आर्थिक सामाजिक विकास नै एमाले लगायत सबै दलहरुको निर्बाचनको मूल एजेन्डा बनेकोमा निजी क्षेत्र उत्साहित भएको ज्ञापनपत्रमा उल्लेख छ । 

राजनीतिक स्थायित्वको लागि बाम गठबन्धनको दुईतिहाई नजिक सहज बहुमतद्धारा आगामी पाँच बर्ष स्थायी सरकार बन्ने विश्वास समेत महासंघका पूर्व अध्यक्षहरुले गरेका छन । 

अध्यक्ष ओलीलाई महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदवहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।