काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमीटेडले आगामी माघ १५ गतेदेखि १००ः८३ को अनुपात(८३ प्रतिशत)मा हकप्रद सेयरको निश्कासन थाल्ने भएको छ । 

हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन २० गतेभित्र तोकिएका स्थानमा आवेदन दिनुपर्नेछ ।

यो फाइनान्स कम्पनीले हकप्रद निश्कासनसँगै बुक क्लोजको मिति समेत तोकेको छ । बुधबार प्रकाशित सूचना अनुसार पुस ३० गतेलाई बुक क्लोजको मिति तोकिएको हो । यसको अर्थ पुस २६ गते(आज)सम्म यो कम्पनीको सेयर खरीद गर्नेले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । पुस २७ गते बिहीबार सार्वजनिक विदा परेको र २८ तथा २९ गते शुक्रबार र शनिवार परेकोले यो कम्पनीको हकप्रद पाउन चाहनेले आजै सेयर खरीद गरिसक्नुपर्नेछ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरको २८ लाख ६७ हजार २ सय २५.६२ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले सिद्धार्थ क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको डिल्लीबजारस्थित मुख्य कार्यालय तथा अन्य शाखा कार्यालयहरु, नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

हल यो कम्पनीको चुक्तापुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापुँजी बढेर ६३ करोड २० लाखको उचाईमा  पुग्नेछ ।