काठमाण्डौ । देशको अर्थतन्त्रमा काला बादलहरु मडारिन थालेका छन् । बलियो सरकार नबन्दा र दूरदर्शी निर्णयका साथ सरकार तथा सरकारी एजेन्सीहरुमा रहनेहरुले काम गर्न नसक्दा अवस्था जटिल बन्दै गएको हो । 

निर्वाचनपछि बन्ने सरकारले आर्थिक समृद्धिको खाका कोर्ने आशा गरिराखिएको बेला देशको अर्थतन्त्र अधोगतितर्फ उन्मुख भएको हो । हाम्रो अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषणको आप्रवाह दर ह्वात्तै घटेको छ भने आत्मनिर्भर अर्थतन्त्रमा जोड नदिंदाको परिणाम आयात उच्च  दरले बढेको छ । 

बैंकहरुका लगानीयोग्य रकमको अभाव भई कर्जा परिचालन ह्वात्तै घटेको छ । आर्थिक गतिविधि कर्जा प्रवाहबिना शून्यप्राय हुन्छ । अहिलेको अवस्थामा बैंक तथा बित्तीय संस्थाहरुले तरलता अभावका कारण कर्जा परिचालनलाई निकै घटाइसकेका छन्, यसले सरकारले चालु आर्थिक वर्षमा प्रक्षेपण गरेको ७ प्रतिशत माथिको आर्थिक वृद्धिदरको लक्ष्यलाई समेत हान्ने(हिट गर्ने) प्रष्ट संकेत देखिइसकेको छ । 

अर्कोतर्फ, दोश्रो त्रैमास बितिसक्दा समेत सरकारले विकास खर्च गर्न सकेको छैन । कुल बिनियोजित बजेटको १३.५९ प्रतिशत मात्र विकास खर्च भएको छ । यसले सरकारसँग खर्र्च गर्ने क्षमता नरहेको र  आर्थिक व्यवस्थापनमा सरकारको बागडोर सम्हाल्नेहरु निकै कमजोर रहेका प्रष्ट देखिन्छ । 

योसँगै मुलुकमा अनौपचारिक अर्थतन्त्र हाबी हुँदै गएको छ । स्थानीय निकाय निर्वाचनमा उम्मेद्वारहरुले दिल खोलेर गरेको खर्चको क्रममा खोलो बगाएको पैसा प्रणालीमा आएको देखिएको छैन । सो पैसा प्रणालीमा आउने ठानेर बैंकहरुले कर्जा परिचालनलाई  बढाएका थिए, तर उनीहरुको प्रक्षेपण गलत साबित  भयो र कतिपय बैंकहरुलाई यही कारण अहिले सीसीडी अनुपात मिलाउन हम्मे हम्मे परिरहेको छ । यसले के देखाउँछ भने सरकार तथा यसका सम्बद्ध एजेन्सी कमजोर भन्दा औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र  हाबी हुन थालेको छ । यो अवस्था जारी रहे आर्थिक रुपमा मुलुक असफल बन्न बेर लाग्दैन । 

हामीले यहाँ नेपाल राष्ट्रबैंकको चालु आर्थिक वर्षको ५ महिनाको अवधिको समीक्षात्मक रिपोर्टलाई आधार मानेर अर्थतन्त्रमा कसरी कमजोर भइरहेको छ भन्ने बिषयलाई  बुँदागत रुपमा देखाउने प्रयास गरेका छौ । हेरौं अर्थतन्त्र कसरी कमजोर भइरहेको छः

बढ्दो मुद्रास्फिति
पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न थालेको छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मुल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको छ ।

२०७३ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा २०७४ मंसिर महिनामा ४.२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको बताइएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको थियो ।

टाइट तरलता
आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिएतापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको केन्द्रीय बैंकको दाबी छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा÷निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोरमार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको बताइए पनि अवस्था त्यसको ठीक विपरीत छ । केही बैंकहरुमा तरलता असहजताले अप्ठ्यारो परिस्थिति निर्माण गरिसकेको छ । तर, आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

शोधानान्तर घाटा
आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनामा मुलुकको समग्र शोधनान्तर रु. ९ अर्ब २७ करोडले घाटामा गएको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आई चालू खाता घाटा रु. ४१ अर्ब ९५ करोड पुगेकोले समग्र शोधनान्तर घाटामा गएको हो । अघिल्लो वर्षको पाँच महिनामा रु. ३ अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. ४१ अर्ब ९५ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पाँच महिनामा रु. २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ९ अर्ब २७ करोडले घाटामा रहेको छ ।

बढ्दो व्यापार घाटा
आर्थिक बर्ष २०७४/७५ को पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर रु. ४३१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढी रु. ३९७ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो ।

घट्दो रेमिटान्स
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई रु. २८५ अर्ब ४८ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी रु. ३३१ अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.२ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

बजेट घाटा/बचत
आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ४ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. १७ अर्ब ६५ करोड रहेको थियो । 

निक्षेपको वृद्धि कम, कर्जाको बढी
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.७ प्रतिशतले बढेको छ । २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३६.५ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ४२.९ प्रतिशत र ३१.८ प्रतिशत रहेको थियो । २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशत, विकास बैंकहरुको १२.२ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.१ प्रतिशतले बढेको छ ।

अनुत्पादक क्षेत्रमा बढ्दो लगानी
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।