काठमाण्डौ । अटोमेकर कम्पनी मारुती सुजुकीले भारतमा हुन लागेको अटो एक्स्पोमा आफ्नो पहिलो इलेक्ट्रिक कारको झलक देखाउने घोषणा गरेको छ । 

कम्पनीको तर्फबाट घोषित आफ्नो पहिलो इलेक्ट्रिक कार, ई–सर्वाइभरको कन्सेप्ट मोडललाई फेब्रुअरीमा हुने दिल्ली अटो एक्स्पोमा सोकेश गरिनेछ ।

यो एक ओपेन टपवाला दुईसिटे एसयूभी कार हो । यसलाई फ्यूचर अफ रोडर इलेक्ट्रिक कारको संज्ञा समेत दिइएको छ ।

मारुती सुजुकी इण्डियाले जारी गरेको विज्ञप्तिअनुसार ४२०० स्क्वायर मिटरमा फैलिएको पेभेलेयिनमा १८ वटा भन्दा बढी मोडलहरु देखाइनेछ । यसमा इलेक्ट्रिक भेइकल ई–सर्वाइभर समेत सामेल हुनेछ । मारुतीले भारतमा यो इलेक्ट्रिक कारले क्रान्ति ल्याउने दाबी समेत गरेको छ । 

मारुती सुजुकी इण्डियाले सन् २०२० सम्म भारतमा इलेक्ट्रिक भेइकल लञ्चको तयारी गरेको छ । ई–सर्भाइवरमा प्रयोग हुने टेक्निक सुजुकी र टोयोटाको सहकार्यबाट प्राप्त हुनेछ ।

भारत सरकारले सन् २०३० सम्म देशका सबै सवारी साधनलाई इलेक्ट्रिक बनाउने लक्ष्य लिएको छ । 

भारतमा उत्पादित गाडी त्यहाँ लञ्च भएको केही समयमै नेपालमा आउने र नेपाल सरकारले समेत विद्युतीय गाडीहरुको प्रयोगलाई प्राथमिकतामा दिएका कारण मारुतीले बनाउने पहिलो इलेक्ट्रिक कारले नेपालमा समेत राम्रै बजार पाउने प्रष्टै छ ।