काठमाण्डौ । नेपालको पूँजीबजारको इतिहासमा हालसम्मकै सबैभन्दा धेरै कित्ताको रुपमा निश्कासन हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको  रेटिङ प्रदान गरेको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले जारी गर्न लागेको २ अर्ब ६४ करोड ७५ लाख मूल्यको प्राथमिक निश्कासनलाई औसत भन्दा तल आधारहरु जनाउने रेटिंग प्रदान गरेको हो ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले कम्पनीको आधारभूत अवस्था बलियो भएको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग हुने प्लस चिन्हले चाहि त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

माथिल्लो तामाकोशीले १०० रुपैयाँ अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गर्न लागेको हो । हालसम्म यति धेरै कित्ता आइपीओ एकैपटक कुनै पनि कम्पनीले निश्कासन गरेका थिएनन् ।  

यो जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ करोड ५ लाख कित्ता र सर्वसाधारणका लागि १ करोड ५८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको हो । 

कम्पनीले कुल २ अर्ब ६४ करोड मूल्यको आइपीओ निश्कासनको माग गर्दै कात्तिक ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । 

यो कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्ट्रिय बिमा कम्पनी लिमीटेडको रहेको छ । विद्युत प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६ प्रतिशत, लगानीकोषको २ र राष्ट्रिय बिमा कम्पनीको २ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

यो जलविद्युत कम्पनीले ४५६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनालाई प्राधिकरणले राष्ट्रिय गौरवको आयोजना भन्ने गरेको छ । यति ठूलो आयोजना सम्पूर्ण रुपमा स्वदेशी लगानीमा निर्माण सम्पन्न हुन लागेको हो । 

दोलखामा निर्माणाधीन यो आयोजनाको पहिलो युनिटबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु भइसक्नेछ ।