-प्रकाश सिलवाल/ कृष्णराम परियार 
हेटौँडा, मकवानपुर । प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ । 

अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि संघीय संसद्को केन्द्रीय टोली खटिएपछि प्रदेशको पहिलो बैठकमा संसदीय अभ्यासमा खासै अन्योल देखिएन । प्रदेशको अस्थायी मुकाम हेटौँडामा सम्पन्न प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक शुरु हुनुअघि मर्यादायापालकले ‘माननीय सभामुख महोदय’ र ‘माननीय सभामुख महोदय’ भनेर उद्घोष गरेपछि सचिवालयका कर्मचारी र मर्यादापालकका साथ ज्येष्ठ सदस्य डोरमणि पौडेल सभास्थल प्रवेश गर्नुभयो । 

सभामुख आएपछि सबै सदस्य स्थानबाट उठ्नुभयो र राष्ट्रियगान प्रस्तुत भयो । अध्यक्षता गर्नुभएका पौडेलले बैठकको कार्यवाही प्रारम्भ गर्दै प्रदेश प्रमुखको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि ज्ञातअज्ञात शहीदका सम्मानमा एक मिनेट मौनधारण गरियो । त्यसप्छि दलीय प्रतिनिधिका आधारमा बोल्ने क्रम शुरु भयो र घोषित कार्यसूचीमा निर्णय भयो । 

बैठकमा ११० सदस्यमध्ये एक सदस्य मात्र अनुपस्थित हुनुभएको थियो । सो प्रदेशमा सात दलका र एक स्वतन्त्र सांसद् हुनुहुन्छ । पूर्वनिर्धारित समयअनुसार अपराह्न १ बजे शुरु भएको बैठक करीव एक घन्टा चलेको थियो । बैठकमा अधिकांश सदस्य दौरासुरुवाल र साडीचोलोमा आउनुभएको थियो । 

सदस्यको बस्ने कुर्सीसँगै टेबल नभएकाले प्रस्ताव पारित हुँदा ढ्यापढ्याप बजाइएको आवाज भने सुनिएन । बैठकस्थलमा प्रवेशका लागि कर्मचारीका लागि नीलो, भित्रसम्म जाने पत्रकारका लागि रातो र परिसरसम्मका लागि पहेँलो प्रवेश पासको व्यवस्था गरिएको थियो । 

दर्शकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, कामु क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, मकवानपुरका प्रजिअ चक्रबहादुर बुढा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायत उपस्थित हुनुहुन्थ्यो । 

केही दिन पहिले नै क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा प्रदेशसभाको बैठकस्थल बनाइएकाले तयारी तुलनात्मक रुपमा सहज देखिएको थियो । निर्देशनालयको मुख्य प्रवेशद्वारमा कडा सुरक्षा व्यवस्था भए पनि भवनको चारैतिर पर्खाल भत्किएकाले यसलाई स्थायी संसद् भवन बनाउने हो भने थप व्यवस्थित गर्नुपर्ने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताउनुभयो । प्रदेशसभा भवन शहीद वासुदेव स्मृति भवन, हुप्रचौरमा सार्न सकिने विकल्पमा पनि छलफल भएको छ । 

कस्तो रह्यो अध्यक्षता गर्दाको अनुभव भन्ने पत्रकारको प्रश्नमा ज्येष्ठ सदस्य पौडेलले आफू संसद्मा पहिलो पटक पुगेको र अध्यक्षता पहिलो पटक गरेकाले नयाँ अनुभव भएको बताउनुभयो । उहाँले पार्टीले जिम्मेवारी दिएमा आफू भावी सभामुख वा मुख्यमन्त्रीका लागि तयार रहेको जनाउनुभयो । मकवानपुरबासी एमाले नेता पौडेल लामो समय शिक्षण पेशामा संलग्न भई हैटौँडा नगरपालिकाको दुई कार्यकाल प्रमुख हुनुभएको थियो । 

बैठकमा सदस्यभन्दा पछिल्लो लहरमा सञ्चारकर्मीका लागि प्रवेश पासका आधारमा स्थान निर्धारण गरिएको तथा प्रोजेक्टरमार्फत सभास्थल परिसरमा प्रत्यक्ष प्रसारण गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमले त्यसबाट प्रत्यक्ष प्रसारण गरेका थिए । बैठक शुरु हुनुअघि र सकिएपछि सांसद्का प्रतिक्रिया लिन सञ्चारकर्मी व्यस्त देखिन्थे । प्रतिक्रिया दिनेमध्ये प्रदेश सरकारका मुख्यमन्त्रीका दावेदार एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्रप्रसाद पाण्डेलगायत हुनुहुन्थ्यो । कतिपय सांसद्ले मकवानपुर प्रदेश नं ३ को स्थायी राजधानी पायक नपर्ने भएकाले पछि दुई तिहाइले अर्काे निर्णय गर्न सक्ने जनाउनुभएको थियो तर काठमाडौँ उपत्यकाभन्दा बाहिर राजधानी हुनुपर्ने उहाँहरुको मत थियो । 

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो । मुलुकको राजधानी काठमाडौँसहित १३ जिल्ला रहेको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो अधिवेशनका लागि प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नुभएको थियो । 

संसद्को प्राविधिक व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट आएका प्राविधिक रामहरि पोख्रेलले पहिलो टेकमा प्रत्यक्ष प्रसारणलागत काममा सहजता मिलेको बताउनुभयो । मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले बैठक हेर्दै गर्दा लोकतन्त्रको प्रत्याभूति भएकोे बताउनुभयो । उहाँले बैठकमा महिला सांसदले बोलिरहँदा समावेशिताले पूर्णता पाएको भान भएको जनाउनुभयो । 

हालको क्षेत्रीय शिक्षा निर्देशनालय भवनमा प्रदेशसभा रहने भए पनि शिक्षा निर्देशनालय क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा सर्ने भएको छ । प्रदेश संरचनाअन्तर्गत आगामी चैतसम्म खारेजीमा पर्ने सो निर्देशनालय हाललाई सार्न लागिएको कामु निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।