काठमाण्डौ । नेपाल राष्टबैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै मुलुकको आर्थिक तथा मौद्रिक परिदृश्यको विश्लेषण गरेको छ । 

केन्द्रीय बैंकले कृषि क्षेत्रको वृद्धिदरमा गत वर्षको तुलनामा केही कमी आउने विश्लेषण प्रस्तुत गरेको छ । घाटामा रहेको शोधानान्तर स्थिति थप दवाबमा पर्ने डर समेत रहेको बताएको छ । 

देशको आर्थिक तथा मौद्रिक परिदृश्य कस्तो छ त ? हेरौं राष्ट्रबैंकको विश्लेषण उसकै भाषामा:
१.चालु आर्थिक वर्षको ६ महिनासम्मका आर्थिक गतिविधिहरुको विश्लेषण गर्दा कृषि क्षेत्रको वृद्धिदरमा गत वर्षको तुलनामा केही कमी आउने देखिएको छ । सेवा तथा औद्योगिक क्षेत्रका गतिविधिमा देखिएको उत्साहलाई दिगो बनाई राख्नुपर्ने देखिएको छ । तथापि, आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वृद्धिदर मध्यमस्तरको रहने देखिएको छ । 

२.आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीति दरलाई ७ प्रतिशतको सीमा भित्र राख्ने यस बैंकको लक्ष्य रहेकोमा चालु आर्थिक वर्ष मुद्रास्फीति दर ६ प्रतिशतको सीमाभित्र रहने संशोधित अनुमान छ । तथापि, हालै पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा दबाब पर्ने जोखिम भने बढेको छ । 

३.आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा मुलुकको शोधनान्तर स्थिति घाटामा रहेको छ । आयातमा भएको उच्च वृद्धि र विप्रेषण आप्रवाहमा आएको कमीका कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गएको हो । आगामी दिनमा सरकारी खर्च वृद्धि हुने, पुनर्निर्माणले थप गति लिने र विदेशी लगानीका कम्पनीहरुको लाभांश बाहिरिने संभावनालाई विश्लेषण गर्दा शोधनान्तर स्थितिमा थप दवाब पर्ने जोखिम छ । 

४.आर्थिक वर्ष २०७४/७५ को ६ महिनासम्म मुलुकको शोधनान्तर स्थिति घाटामा गएको अवस्थामा समेत मौद्रिक विस्तार तुलनात्मक रुपमा उच्च रहेको छ । यद्यपि, सो विस्तार वार्षिक सीमा भित्र रहेको छ । त्यसैगरी, कर्जा विस्तार तुलनात्मक रुपमा उच्च नै रहेको छ । संघीय संरचना अनुसार तीनै तहको निर्वाचन सम्पन्न भई सकेको सन्दर्भमा सरकारी खर्च उल्लेख्य वृद्धि हुने अनुमान गर्दा मौद्रिक तथा कर्जा योगाङ्कहरुको वृद्धि वाञ्छित सीमामा राख्न चुनौतीपूर्ण हुने देखिन्छ ।