काठमाण्डौ । हिजोआज विश्वभर एकजोडी मामा–भाञ्जाको व्यापक चर्चा छ । यी मामा–भाञ्जाले एक खतरनाक खेल खेले । मामा भाञ्जाको यो जोडीले मिलेर बैंकलाई ३२ हजार करोड रुपैयाँभन्दा बढीको चूना लगाइदिए । मामा–भाञ्जाको यो खेलले मोदी सरकारलाई नै हल्लाइदिएको छ र सरकारले यो खेलका दोषीलाई कारबाही गर्न निकै छोटो समयमा निकै ठूलो सक्रियता देखाउनुपरेको छ । 

यो हो मामाभाञ्जाको जोडी
पञ्जाब नेशनल बैंकबाट निकै ठूलो रकम घोटाला भएको घटना यसअघि नै सार्वजनिक भइसकेको छ । यो प्रकरणलाई मामा–भाञ्जा मिलेर सफल बनाए । यी मामा–भाञ्जालाई पञ्जाब नेशनल बैंकका केही कर्मचारीले साथ दिइरहेका थिए । यो निकै ठूलो ठगी प्रकरणमा गीताञ्जली जेम्सका एमडी तथा सीइओ मेहुल चौकसी र भारतका चर्चित हिरा कारोबारी निरव मोदीको नाम आएको छ । मेहुल नाताले निरवका मामा हुन् । 

कसरी भयो ठगी ? 
हिरा कारोबारी निरव मोदी र मेहुल चौकसी मिलेर पञ्जाब नेशनल बैंकको ११ हजार ३ सय ५६ करोड भारु चुना लगाइदिएका छन् । यो खेल लेटर अफ अण्डरटेकिङको आडमा चलिरहेको थियो । यहीमार्फत एउटा बैंकको ग्यारेण्टीमा अर्को बैंकले पैसा पेमेन्ट गरिरहेको थियो । यो घोटालामा पञ्जाब नेशनल बैंकको अलावा युनियन बैंक अफ इण्डिया, इलाहावाद बैंक तथा एक्सीस बैंकको नाम समेत अगाडि आइरहेको छ । तर, यी बैंकहरुले भने पञ्जाब नेशनल बैंकको लेटर अफ अण्डरटेकिङका आधारमा रकमको भुक्तानी गरिएको बताइरहेका छन् । 

कसरी बाहिरियो यो प्रकरण ?
पञ्जाब नेशनल बैंकले बुधबार स्टक एक्सचेञ्ज बिएसई(बम्बई स्टक एक्सचेञ्ज)लाई पत्र लेख्दै केही छानिएका अकाउण्ट होल्डरहरुलाई फाइदा पुुग्ने गरी यो ठगी गरिएको जानकारी गराएको थियो । ती खातामार्फत ११ हजार ३ सय ५६ करोड भारुको कारोबार भएको देखिएको थियो । यही कारोबारका आधारमा विदेशमा केही बैंकले ती व्यक्तिलाई कर्जा समेत दिएका देखिएको बताइएको छ । 

यो पूरा खेलको मास्टर माइण्ड निरव मोदी हुन् । केही दिनअघि सीबीआईले पञ्जाब नेशनल बैंकको उजुरीका आधारमा निरवविरुद्ध निकै धेरैवटा प्रकरणका फाइल दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । निरव मोदी खासमा एक हिरा कारोबारी हुन् । कुनै बेला स्कूलको पढाई छाडेर उनले हिराको कारोबार सुरु गरेका थिए । उनले केही वर्षको अन्तरालमै हजारौं करोडको कम्पनी स्थापना गरेका थिए । कुनै समय फोब्र्स पत्रिकाले निरवलाई १०० धनाढ्य भारतीयहरुको सूचिमा समेत सामेल गरेको थियो । 

यसैबीच, पञ्जाब नेशनल बैंकबाट ११ हजार ३ सय ५६ करोड भारु ठगी गरिएको प्रकरण बाहिरिएसँगै बिहीबार इन्फोर्समेन्ट डाइरेक्टेट(इडी)ले कयौं स्थानमा छापा मारेको बताइएको छ । इडीले ज्वेलर्स तथा विजिनेशम्यान निरव मोदीको घर समेत करिब १० स्थानमा छापा मारेको थियो । यो क्रममा सुरतमा ४, मुम्बईमा ४, दिल्लीका २ स्थान सामेल छन् । सूत्रका अनुसार यो छापामारीमा करिब ५१०० करोड भारुको सम्पत्ति सिज गरिएको छ, जसमा हिरा तथा गरगहना समेत सामेल छन् । 

निरव र चौकसी मिलेर पञ्जाब नेशनल बैंकलाई ११ हजार ३ सय ५६ करोड भारु घाटा लगाएको बिषय बाहिरिएसँगै बैंक तथा गीताञ्जली जेम्सको सेयरमा तीन दिनदेखि भारी गिरावट आयो । यो गिरावटको क्रममा लगानीकर्ता ९ हजार ५ सय करोड भारु डूूबेको छ । यो समेत जोडेर यी मामाभाञ्जा मिलेर ३२ हजार करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको घाटा लगाइदिएका छन् ।