रुकुम । कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको छ । 

उहाँले २०६२ सालदेखि मौरी पाल्न शुरु गर्नुभएको हो । मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको छ । बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । 

“शुरुमा रु पाँच सय ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको छु,” खड्काले भन्नुभयो । वर्षमा दुई याममा मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उहाँको भनाइ छ । उहाँले उत्पादित मह प्रतिकिलो रु ६ सय र मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गर्नुभएको छ । 

मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु ६ लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । परिश्रमअनुसार आम्दानी राम्रो हुँदै गएपछि खड्का अहिले खुशी हुनुहुन्छ । मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो । 

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताउनुभयो । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ । 

आव २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने गर्नुहुन्छ ।